काठमाडौँ । जेनजी प्रदर्शनमा प्रहरीले ६५ सय राउन्डभन्दा धेरै गोली प्रहार गरेको भेटिएको छ । प्रहरीको आन्तरिक रिपोर्ट अनुसार जङ्गी राउन्ड ४ हजार र २५ सय राउन्ड भन्दा धेरै रबर बुलेट प्रहार गरेको भेटिएको हो ।
प्रहरी प्रधान कार्यालयले समिति बनाएर लुटिएका हतियार र खर्च भएका गोलीको विवरण तयार गरेको छ । अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार गरेको विवरण आईजीपी चन्द्र कुवेर खापुङलाई बुझाइएको छ ।
भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनमा ४ हजार जङ्गी राउन्ड खर्च भएको विवरण समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रहरीका एकजना उच्च अधिकृतका अनुसार काठमाडौँको बानेश्वर सहित देशभर २५ सय राउन्ड भन्दा धेरै रबल बुलेट प्रहार गरेको भेटिएको छ ।
त्यस्तै, भिड नियन्त्रण गर्न प्रहरीले २५ सय भन्दा धेरै ब्ल्यांक राउड फायर गरेको छ । ब्ल्यांक राउन्ड प्रहार गर्दा आवाज मात्र आउँछ ।
प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ८ हजार सेल अश्रुग्याँस प्रहार गरेको छ । काठमाडौँ उपत्यकामा मात्र ४ हजार सेल अश्रुग्याँस प्रहार गरिएको प्रहरीको आन्तरिक प्रतिवेदनमा उल्लेख छ । उपत्यकामा प्रहरीले बानेश्वर, माइतिघर, कालीमाटी, थिमी र मालिगाउँ क्षेत्रमा अश्रुग्याँस प्रहार गरेको थियो ।
प्रहरी प्रधान कार्यालय जोगाउने क्रममा प्रहरी कर्मचारीले करिब १३ सय राउन्ड अश्रुग्याँस प्रहार गरेको भेटिएको छ । मधेस प्रदेशमा ६ सय सेल अश्रुग्याँस प्रहार गरिएको आन्तरिक रिपोर्टमा उल्लेख छ ।
प्रतिक्रिया