काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।
बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयले भनेको छ– ‘आज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ । तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।’
सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ । लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् ।
यता धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ । बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।
प्रतिक्रिया