• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    बाढी–पहिरोका कारण देशभर ९ सडक पूर्ण अवरुद्ध, १३५ स्थानमा एकतर्फी सञ्चालन

    63
    SHARES

    काठमाडौँ । अविरल वर्षापछिको बाढी र पहिरोका कारण देशका ९ वटा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १३५ स्थानमा एकतर्फी मात्र सञ्चालनमा छन् ।

    सडक विभागका अनुसार कोशी, तमोर र भेरी करिडोरका साथै अरनिको र सिद्धार्थ राजमार्गजस्ता मुख्य सडकहरू बाढी–पहिरोले क्षतविक्षत् हुँदा यातायात ठप्प भएको छ । विभिन्न स्थानमा पहिरो पन्छाउने र डाइभर्सन निर्माण गर्ने प्रयास भए पनि निरन्तरको वर्षाले अवरोध पुऱ्याइरहेको विभागले जनाएको छ ।

    स्याफ्रुबेसी–रसुवागढी सडकअन्तर्गत रसुवागढी, टिमुरे, तातोपानी, कुलुङभन्ने स्थानमा सडक अवरुद्ध भएको छ । साउन १४ गते चीन तर्फबाट पुनः आएको बाढीले अवरुद्ध यो सडक नदीले कटान गरेको छ । एक्स्काभेटर तथा लोडर प्रयोग गरी अवरुद्ध सडक खन्ने प्रयास भइरहेको छ ।

    कोशी करिडोरअन्तर्गत संखुवासभाको बरुण तुम्लिङ्टार–खाँदबारी–नुम किमाथांका सडकमा पर्ने बरुण नदीमा आएको बाढीले डाइभर्सन बगाउँदा अवरुद्ध भएको छ । यस स्थानमा पुल निर्माणमा ढलानको कार्य बाँकी रहेकाले पुनः डाइभर्सन राख्नुपर्ने हुन्छ, तर पानीको बहाब बढेका कारण डाइभर्सन निर्माण गर्न नसकिएको जनाइएको छ ।

    तमोर करिडोरअन्तर्गत ताप्लेजुङको मुलाघाट दोभान ओलाङ्चुङगोला सडक पूर्ण रुपमा अवरुद्ध छ । रेमिट हाइड्रोबाट पुनः बेलिब्रिज निर्माणका लागि पहल भएको छ । करिब पाँच वर्षअघि उक्त हाइड्रोले निर्माण गरेको रानीपुल बेलिब्रिज साउन ६ गते बाढीले बगाएको थियो ।

    यस्तै सिन्धुपाल्चोकको कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । पश्चिम रुकुममा चोखा खोला चटारगाडमा लेदोसहितको पहिरो आउँदा भेरी करिडोरको जाजरकोट–तिन्जे मरिम खण्ड पूर्ण रुपमा अवरुद्ध बनेको छ । यहाँ जेसीबी र एक्स्काभेटर परिचालन गरिएको छ ।

    भेरी करिडोरअन्तर्गतकै डोल्पाको कापरगाड खोलामा आएको बाढलिे बेली पुलमा लगाइएको ग्याबिन जाली बगाएको कारण तिन्जे–मरिम खण्ड पूर्ण रुपमा अवरुद्ध छ । पुल नै जोखिममा रहेको जनाएको छ । साथै जालि हालेर मर्मत गर्ने कार्य भइरहेको छ ।

    सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बेलहिया–भैरहवा–बुटवल–राम्दी सडकअन्तर्गत बुटवल चिडिया खोलादेखि पाल्पा दोभानसम्म पहिरो जाँदा सडक पूर्ण अवरुद्ध छ।

    रोल्पाको पुतलाचौर/ग्राम्जिमा पहिरो जाँदा सहिदमार्गअन्तर्गत कोइलाबास –लमही–घोराही–घर्तीगाउँ–लुकुम सडक पूर्ण अवरुद्ध छ । निरन्तर पानी परिरहेका कारण पहिरो पन्छाउने कार्य सुरु गर्न नसकेको विभागले जनाएको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ