काठमाडौँ । चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। यसअघि थप सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको थियो।
पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरीले अनुमति लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दका अनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिनको म्याद पाएको हो। ‘पाँच दिन म्याद थप भएको छ,’ उनले भने,‘बयानको काम भइरहेकोछ।’
म्याद थप हुनेहरूमा चक्रे मिलन, गणेशबहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप के.सी., राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्र देव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही छन्।
अरूलाई भने हाजिरी जमानीमा छोडिएको हो। केही दिनदेखि चक्रे मिलनको बर्थडे सेलिब्रेसनको नाममा आतंक फैलाएको भन्दै प्रहरीले सर्च अपरेसन चलाएको हो।
बाटो छेकेर गाडीहरू चलाएको, होहल्ला गरेको, आतंकित बनाएको भन्दै प्रहरीले चक्रे मिलनको समूहलाई खोजी गरेको थियो।
महाराजगन्जको साम्बाला होटलमा बर्थ-डे सेलिब्रेसन गरिरहेको थाहा पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली त्यहाँ पुगेको थियो। त्यस्तै जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त महाराजगन्जको टोली पुगेर होटलबाट ४७ जनालाई नियन्त्रणमा लिएको थियो।
उनीहरूको गाडी तलासी लिँदा दुई वटा खुकुरी, एउटा पेपर स्प्रे र एउटा रड समेत फेला परेको थियो।
प्रतिक्रिया