काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । मुख्यमन्त्री लामाको राजीनामा आजै आउने भएपनि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचाररत रहेकाले प्रक्रिया केही ढिला हुनसक्ने देखिएको छ ।
प्रदेश प्रमुख देवकोटा हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउने तयारी छ । तर उहाँ समयमै नफर्किए राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री लामामाथि राजीनामाको दबाब नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा भएको निर्वाचनमा पराजित भएपछि आएको हो । उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग पराजय व्यहोरेका थिए ।
लामाको राजीनामापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने निश्चित जस्तै छ । प्रदेश सरकारको नेतृत्व गर्ने विषयमा कांग्रेस र नेकपा एमालेबिच एक वर्षअघि भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् ।
प्रतिक्रिया