काठमाडौँ । नेकपा माआवादी केन्द्रले योङ कम्युनिस्ट लिग (वाईसीएल) को नयाँ नेतृत्वमा सहमति जुट्न नसक्दा चौथोपटक पनि निर्वाचन कार्यतालिका संशोधन गरिएको छ ।
आइतबारदेखि सुरु भएको सम्मेलन छैंठौं दिनसम्म चल्दा पनि अध्यक्ष चयनमा सहमति जुट्न नसकेपछि कार्यक्रम अझै अन्योलमा परेको छ। प्रारम्भमा कमलादीस्थित प्रज्ञा भवनमा भइरहेको सम्मेलन शुक्रबारदेखि चाबहिलस्थित गोल्डेन पार्टी प्यालेस सारिएको छ।
पछिल्ला तीन दिनदेखि नेतृत्वमा सहमति जुटाउने प्रयास भए पनि निष्कर्षमा पुग्न सकिएको छैन। पार्टीले सहमतिको वातावरण बनाउनका लागि उपमहासचिव शक्ति बस्नेतलाई जिम्मेवारी दिएको छ। उनीसहित वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ र संगठन अध्यक्ष सुबोध शेर्पालीले आकांक्षीहरूसँग संवाद गरिरहेका छन्।
पार्टी सचिवालयले सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिए पनि अध्यक्ष पदमा प्रतिस्पर्धा चर्किँदै गएको छ। सुरुमा १३ जना आकांक्षी रहेकोमा हालसम्म संख्यामा कमी आइ तीन जनामा झरेको छ। ती हुन्– केहरसिंह कुँवर (उपाध्यक्ष), पुष्प ओली (उपमहासचिव), र कर्म पुलामी (सचिव)।
संगठन स्रोतका अनुसार, हाल कुँवर र ओलीबीच प्रतिस्पर्धा हुने सम्भावना बढी देखिएको छ भने पुलामी सहमतिको पक्षमा उभिएका छन्। सहमति जुटेपछि अन्य पदमा विवाद नहुने वाईसीएल नेताहरूको धारणा छ।
निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली पेश गर्ने समय आज बेलुकी ९ बजेसम्म तोकेको छ। यद्यपि मतदानको समय भने कार्यतालिकामा खुलाइएको छैन। आयोगले मतदान तत्कालीन अवस्थाअनुसार गरिने जानकारी दिएको छ।
प्रतिक्रिया