काठमाडौं । ताइवानमा भूकम्पबाट केही भवनहरु भत्किएका छन् । तर मानिसहरु कति हताहती भए भन्ने विवरण आउन बाँकी छ । सामाजिक सन्जालहरुमा सेयर गरिएका फोटो र भिडियोहरुमा बहुतले बिल्डिङहरु भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ ।
अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले पनि तिनै फोटो र भिडियोहरुलाई प्रयोग गरी प्राथमिकताका साथ सामाचार प्रकाशित गरेका छन् । बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यसपछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थिए । अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस भएको थियो । स्थानीयलाई करिब एक हप्तासम्म यस्तै खालका परकम्पहरु आउन सक्ने भन्दै सतर्क रहन भनिएको छ ।
सुरुको धक्काबाट कमजोर भएका संरचनाहरु अर्को शक्तिशाली धक्काका कारण भत्किएको अनुमान छ । भूकम्पलगत्तै विद्युत आपूर्ति बन्द भएको थियो । ताइवानमा आएको भूकम्प पछि छिमेकी देश जापानमा सुनामीको चेतावनी दिइएको छ । जापानको मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको हो ।
समुद्रको छाल तीन मिटर माथिसम्म उठ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ । फिलिपिन्सको भूकम्प मापन निकायले पनि सूनामीको चेतावी जारी गरेको छ । बीबीसीका अनुसार ताइवानमा २५ वर्षपछि यति शक्तिशाली भूकम्प आएको हो ।
भूकम्पको केन्द्र हुआलियन शहरमा धेरै भवनहरु आंशिक रुपमा ध्वस्त भएका छन् । ती भवनहरु कोल्टे परेको देखिन्छ । पहाडी क्षेत्रमा ठूलो पहिरो झरिरहेको भिडियो सार्वजनिक भइरहेकाले त्यता तिर पनि भूकम्पले क्षति पुर्याएको हुनसक्ने अनुमान छ ।
प्रतिक्रिया