• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    बालेनको राजनीतिक दौडधूपप्रति सिके राउतको टिप्पणी – कागलाई बेल पाक्यो हर्ष न विस्मात्

    343
    SHARES

    काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले पछिल्लो समय देखिएको राजनीतिक चहलपहलप्रति ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात्’ भन्दै टिप्पणी गरेका छन्। हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले विभिन्न राजनीतिक नेताहरू तथा ‘जेनजी’ अगुवासँग भेटघाट बढाइरहेका सन्दर्भमा उनले यस्तो धारणा राखेका हुन्।

    बिहीबार मेयर शाहले ललितपुरको ज्वागलमा झन्डै १२ घन्टा विभिन्न दलका नेता र युवा अगुवासँग छलफल गर्दै सहकार्यबारे सुझाव लिएका थिए। यद्यपि उनी हालसम्म कुनै ठोस निष्कर्षमा पुगेका छैनन्। यसै क्रममा उनले सिके राउतसँग पनि भेट गरेको चर्चा चलिरहँदा राउतले यसबाट मधेसको समस्या समाधान नहुने संकेत गरेका छन्।

    सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै राउतले लेखेका छन्, “जसलाई प्रधानमन्त्री–प्रधानमन्त्री खेल्नु छ, खेले हुन्छ; मन्त्री–मन्त्री खेल्नु छ, खेले हुन्छ; जेनजी–जेनजी वा नयाँ–पुराना खेल्नु छ, खेले हुन्छ। तर हामी मधेसको मुद्दाका कारण राजनीतिमा होमिएका हौँ।”

    उनका अनुसार मधेसका समस्या, अवस्था र राजनीतिक एजेन्डा देशका अन्य क्षेत्रभन्दा फरक छन्। “हामी गरीब, अशिक्षित, विपन्न, पिछडिएका, विभेदमा परेका, किसान, मजदूर र पहुँचविहीन वर्गको प्रतिनिधित्व गर्छौँ। त्यसैले हाम्रो राजनीति र एजेन्डा पनि फरक छन्,” उनले बताएका छन्।

    प्रधानमन्त्री वा मन्त्री परिवर्तन हुँदैमा, पुरानाको ठाउँमा नयाँ आउँदैमा, वा नयाँ शक्तिहरू एक ठाउँमा जम्मा हुँदैमा मधेसका समस्या समाधान नहुने उनको भनाइ छ।

    राउतले मधेस आन्दोलन सुरु भएको १८ वर्ष बितिसकेको स्मरण गराउँदै भनेका छन्, “हामीले कति उपलब्धि पायौँ भन्ने प्रश्न अझै खुलै छ। आगामी १८ वर्षमै सबै कुरा हासिल हुन्छ भन्न सकिँदैन। हामीले अझै दशकौँसम्म संघर्ष गर्नुपर्नेछ।”

    उनका अनुसार कहिले धेरै सिट आउन सक्छ, कहिले एक सिट पनि नआउन सक्छ, तर मूल कुरा आन्दोलनको आवाज, धार र क्रान्तिको ज्वाला जोगाइराख्नु हो।

    यही कारण जनमत पार्टी यताउता हुने राजनीतिक समीकरणमा अत्यधिक उत्साहित नहुने र दिशाहीन भट्किन नहुने उनको धारणा छ।

    “हामीले एक निर्वाचन, एक मौसम वा केही महिनाका लागि पार्टी एकता, गठबन्धन जस्ता विषयमा दिमाग खर्चिने होइन। एक सिट जिते पनि नजिते पनि, हामी दशकौँसम्म संघर्षका लागि तयार रहनुपर्छ र क्रान्तिको मशाल जलाइराख्नुपर्छ,” राउतले उल्लेख गरेका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ