
काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ ।
आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् ।
यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल दर्ताका लागि निवेदन दिएको नेकपाले प्रमाणपत्र पाइसकेको छ ।
खारेज हुने अन्य दलमा वामदेव गौतमको नाममा रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान र सीके राउन नेतृत्वबाट अलग भइ दर्ता कायम भएको जनस्वराज पार्टी खारेज भएको प्रवक्ता नारायण भट्टराईले जानकारी दिए ।
भट्टराईका अनुसार आगामी फागुन २१ गते हुने निर्वाचनमा आइतबारसम्म ३५ दलले निवेदन दिएका थिए । तीमध्ये २८ दल दर्ताको प्रक्रियामा रहेको छ । आयोगले असोजमा सार्वजनिक गरेको कार्यतालिका अनुसार कात्तिक ३० गतेसम्म दलदर्ता प्रमाणपत्र प्राप्त गर्ने दलले मात्र निर्वाचन प्रक्रियामा भाग लिन पाउने निर्णय गरेको थियो ।
अघिल्लो निर्णय खुकुलो बनाउँदै आयोगले मंसिर ५ गतेसम्म दल दर्ताका लागि निवेदन दिने दलहरूले पनि निर्वाचनमा भाग लिन पाउनेगरी सहजीकरण गरेको प्रवक्ता भट्टराईले जानकारी दिए ।



प्रतिक्रिया