
काठमाडौं । देशको वर्तमान राजनीतिक अन्योल र कम्युनिष्ट आन्दोलनमा देखिएको विखण्डनबीच तीन प्रमुख नेताहरू- नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, माओवादी केन्द्र परित्याग गरेका नेता जनार्दन शर्मा, र नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसाल- सहकार्यका लागि नजिकिएका छन्।
शुक्रबार बिहान हरिसिद्धीस्थित विप्लव निवासमा भएको भेटवार्तापछि तिनै नेताहरूले राजनीतिक सहकार्य र समन्वयको नयाँ अध्याय सुरू गर्ने तयारी गरेका हुन्। भेटपछि पत्रकारहरूसँग कुरा गर्दै घनश्याम भूसालले भने, “हामी सहकार्यमा छौं। आजको मुलुकको आवश्यकताअनुसार सहकार्यलाई विस्तार र घनिभूत बनाउनेतर्फ छलफल हुँदैछ।” उनका अनुसार यो सहकार्य देशको राजनीतिक अन्योललाई सम्बोधन गर्ने साझा प्रयास हो।
भूसालले सहकार्यलाई “एकता” नभई “एकीकृत कार्ययोजना”का रूपमा बुझ्न आग्रह गरे। “हामी एकताबद्ध भएर जानेछौं, तर त्यसलाई एकीकरण भन्ने भ्रम नपरोस्,” उनले स्पष्ट पारे। तीन नेताबीच विगतमा पनि विभिन्न समयमा सहकार्यका प्रयासहरू भएका थिए। भूसालले भने, “विगतमा हाम्रो सहकार्य पातलो भएको थियो, अहिले त्यसलाई नवीकरण गर्दै अघि बढ्नेछौं।”
बैठकमा देशको पछिल्लो राजनीतिक परिस्थिति, कम्युनिष्ट पार्टीहरूबीच सहकार्यका सम्भावना, र आगामी राजनीतिक रणनीति विषयमा गम्भीर छलफल भएको स्रोत बताउँछ। बैठकमा भएका निष्कर्षलाई समेटेर आजै संयुक्त विज्ञप्ति जारी गरिने तयारी भएको छ।
शर्मा र भूसालले केही समयअघि पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफ्ना पृथक् अभियान सुरू गरेका थिए। शर्माले “प्रगतिशील अभियान नेपाल” नामक अभियानमार्फत युवाहरूलाई एकताबद्ध गर्ने प्रयास थालेका छन् भने भूसालले एकीकृत समाजवादीबाट अलग भएर “नयाँ प्रगतिशील धार” निर्माणको तयारी गरेका छन्।
यसैबीच, विप्लव नेतृत्वको माओवादीले पनि शुक्रबार नै काठमाडौंको भृकुटीमण्डपमा र्याली र जनसभा सम्पन्न गरेको थियो। सो सभामा विप्लवले अन्तरिम सरकार निर्माण र सच्चा कम्युनिष्ट शक्तिहरूबीच एकता आवश्यक रहेको कुरा जोडदार रूपमा प्रस्तुत गरेका थिए।



प्रतिक्रिया