
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ गते बृहत् राजनीतिक संवाद आयोजना गर्ने भएको छ। मंगलबार बसेको पार्टी सचिवालय बैठकले यस्तो निर्णय गरेको जानकारी महामन्त्री कवीन्द्र बुर्लाकोटीले दिएका छन्।
उनका अनुसार, जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि देशको राजनीतिक परिवेशमा आएको परिवर्तनलाई दिगो बनाउने र दीर्घकालीन रूपान्तरणको दिशामा अघि बढ्ने उद्देश्यले रास्वपाले यो संवादको तयारी थालेको हो।
बुर्लाकोटीका अनुसार, समान सोच र कार्यशैली भएका व्यक्ति तथा समूहबीच बृहत् राजनीतिक एलायन्स निर्माणका लागि रास्वपाले विगत केही समयदेखि विभिन्न चरणमा द्विपक्षीय संवादहरू गर्दै आएको छ।
‘प्रवास र स्वदेशका नेपाली जनताले आशा–अपेक्षा राखेका नयाँ राजनीतिक शक्तिहरू, स्वतन्त्र विचारक, अभियन्ता र नवयुवा पुस्ताबीच सार्थक सहकार्य नहुँदा देश पुनः पश्चगमनतर्फ धकेलिन सक्ने सम्भावना देखिएको छ,’ उनले भने, ‘त्यसैले विविध राजनीतिक विकल्पबारे खुला छलफल र साझा दृष्टिकोण निर्माण गर्न हामीले यो संवादको तयारी गरेका हौँ।’
रास्वपाले उक्त बृहत् राजनीतिक संवाद कार्यक्रमको संयोजन पार्टीका उपसभापति तथा उच्चस्तरीय संवाद समिति संयोजक डा. स्वर्णिम वाग्लेले गर्ने बताइएको छ।



प्रतिक्रिया