
मुस्ताङ। काठमाडौँ। मुस्ताङ जिल्लामा यो यामको पहिलो हिमपात भएको छ। उपल्लो मुस्ताङको कोरलाना, लोमान्थाङ गाउँपालिका र मुक्तिनाथ क्षेत्रमा बिहानदेखि निरन्तर हिमपात भइरहेको छ। जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार, लोमान्थाङ–२ छोसर, कोरलाना र मुक्तिनाथ क्षेत्रसहित उपल्लो र तल्लो मुस्ताङका उच्चलेकहरूमा वर्षासँगै हिमपात भएको छ।
मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले भने, “मुक्तिनाथ क्षेत्रमा बाक्लो हिउँ परेको छ, पाँच–छ इन्च जमेको अवस्था छ। जमिन तातो भएकाले पूर्ण रूपमा जम्न सकेको छैन। यसै रफ्तारले हिमपात जारी रह्यो भने दुई फिटसम्म हिउँ जम्ने सम्भावना छ।”
यस्तै लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले भने- “यस वर्ष कात्तिकमै हिउँ परेको छ, विगत दुई–तीन वर्षसम्म हिमपात कम देखिएको थियो। यो कृषकका लागि लाभदायी छ, अन्नबाली उत्पादनमा सकारात्मक असर पर्छ।”
वारागुङ मुक्तिक्षेत्रका वडाध्यक्ष प्रमेश गुरुङले उच्च स्थानका गाउँहरू खिङ्गा, झोङ, छेङ्गुर, फल्याकमा बाक्लो हिमपात भएको जानकारी दिए। हिउँले चिसो अत्यधिक बढाएको र स्थानीय जनजीवनमा प्रभाव परेको बताए। हिउँले स्याउ, उवा, फापर, जौ, मकै जस्ता अन्नबालीको जमिनको भित्री तहसम्म सिँचाइ गराउने भएकाले किसानका लागि बरदान सावित हुने वडाध्यक्ष गुरुङले बताए।
मुक्तिनाथ मन्दिर र आसपास क्षेत्रमा हिमपात जारी रहँदा दर्शनार्थीलाई समस्या भएको छ। स्नानकुण्ड र १०८ धारामा जमेको हिउँका कारण नुहाएर दर्शन गर्न असहज भएको स्थानियले बताए। जिल्ला प्रशासन कार्यालयले कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्न अनुरोध गरेको छ। जोमसोम–मुक्तिनाथ सडकखण्डको कालोभिर, खिङ्गा, झारकोट लगायतका ठाउँमा बाक्लो हिउँ जमेकाले सवारीसाधन सञ्चालन जोखिमपूर्ण भएको छ।
पशुपालनका लागि उच्चलेकको चरन क्षेत्र सहज भएको छ, जमिनको भित्री तह सिँचिने भएकाले अन्नबाली उत्पादनमा वृद्धि हुने र रैथाने बालीमा लाग्ने रोगकिरा न्यूनीकरण हुने, पर्यटन क्षेत्रमा हिउँ खेल र स्की प्रतियोगिताका अवसर प्राप्त हुने आशा गरिएको छ।
यस्तै मुस्ताङस्थित होटल ग्रान्ड साम्वलाका सञ्चालक सुरज गुरुङले विगत तीन वर्षदेखि राम्ररी हिमपात नपरेको कारण राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न नसकिएको र यो वर्ष पर्याप्त हिउँ परेमा प्रतियोगिता सम्भव हुने बताएका छन्।
यस्तै जनप्रिय युवा क्लबका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले हिउँ खेल्न र रमाउन पर्यटक मुस्ताङ आउने भएकाले पर्यटन प्रवर्धनमा सघाउ पुर्याउने बताएका छन्। स्थानीय प्रशासन र वडाध्यक्षका अनुसार, विगत तीन वर्ष हिमपात कम परेको कारण कृषि, पर्यटन र जैविक विविधतामा नकारात्मक प्रभाव परेको थियो। यस वर्षको कात्तिकमै परेको हिमपातले यी क्षेत्रमा सकारात्मक असर पुर्याउने विश्वास व्यक्त गरिएको छ।



प्रतिक्रिया