
मकवानपुर । मकवानपुरमा ग्यास बुलेटले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सोमबार बिहान चितवनबाट मनहरीतर्फ जाँदै गरेको बा.प्र.२–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एनएल ०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोक जिल्ला चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठको मृत्यु भएको हो। उनका २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रवीन श्रेष्ठ घाइते भएका छन्। गम्भीर घाइते केदारलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए। सरस्वती र प्रवीनको चितवनको एलाइभ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सरस्वतीको अवस्था गम्भीर छ भने छोरा प्रवीनको अवस्था सामान्य रहेको छ। ठक्कर दिने ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहमद मतिनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया