• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    माइतीघर बालेन, सुदन र गृहमन्त्रीका मात्रै होइन : शंकर पोखरेल

    327
    SHARES

    काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एक पक्षीय रूपमा प्रयोग गरिएको आरोप लगाएका छन्। उनले काठमाडौं महानगरका मेयर बालेन साह, हामी नेपाल पार्टीका संयोजक सुदन गुरुङ, र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूले मात्रै माइतीघरलाई प्रदर्शनस्थल बनाएको भन्दै असन्तुष्टि जनाए।

    पोखरेलका अनुसार राज्यप्रतिको असन्तुष्टि व्यक्त गर्न, फरक मत राख्न र जनआवाज उठाउन सबै नागरिकलाई समान अधिकार छ, तर हाल माइतीघर मण्डलामा अन्य विचारका प्रदर्शनलाई निषेध गरेर लोकतान्त्रिक अभ्यासमै प्रश्न उठाइएको छ।

    सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन — सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।” उनले माइतीघर मण्डलालाई जनअधिकार र अभिव्यक्तिको प्रतीकका रूपमा हेरिनुपर्ने बताउँदै प्रशासन र सत्तापक्षले त्यसलाई नियन्त्रणमा लिन खोज्नु लोकतान्त्रिक मूल्यविपरीत रहेको टिप्पणी गरेका छन्।

    माइतीघर मण्डला विगत दुई दशकदेखि जनआन्दोलन, महिला आन्दोलनदेखि लिएर भ्रष्टाचारविरोधी अभियानसम्मका प्रदर्शनको केन्द्रविन्दु रहँदै आएको छ। तर पछिल्ला वर्षमा यहाँ प्रदर्शन गर्न प्रशासनबाट अनुमति लिनुपर्ने नियम लागू भएपछि धेरै समूहले यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रतिबन्धको रूपमा व्याख्या गर्दै आएका छन्।

    हालै मात्रै अनुमति नलिई प्रदर्शनमा उत्रिएका जेनजी युनाइटेडका ५० जना युवाहरूलाई प्रहरीले नियन्त्रणमा लिएको घटना सार्वजनिक भएको थियो। त्यसपछि माइतीघरको प्रयोग र प्रशासनको भूमिका पुनः विवादको केन्द्रमा आएको हो।पोखरेलले सबै नागरिक, दल र समूहलाई समानरूपमा प्रदर्शनको अवसर दिनुपर्ने माग गर्दै भनेका छन्,

    “लोकतन्त्रमा असन्तुष्टिको आवाज उठाउन सबैले समान अधिकार पाउनुपर्छ। कुनै विचारलाई मात्र अनुमति दिने र अर्को विचारलाई निषेध गर्ने अभ्यासले कानुनी र राजनीतिक असमानता झल्काउँछ।” उनको भनाइले हालको राजनीतिक वातावरणमा लोकतान्त्रिक स्वतन्त्रताको दायराबारे नयाँ बहस सुरु गरेको देखिन्छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ