• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    मुख्यमन्त्री सोनलले छठपछि विश्वासको मत लिने

    260
    SHARES

    जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्व सम्पन्न भएपछि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सहितको पाँचदलीय गठबन्धनले शुक्रबार रौतहटको चन्द्रनिगाहपुरमा बसेको बैठकमा यो सहमति गरेको हो।

    गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले दुई दिनपछि नेकपा (एकीकृत समाजवादी) का कनिष पटेल र जनमत पार्टीका महेश प्रसाद साहलाई बिना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए। मुख्यमन्त्री सोनलले शनिबार बिहान रातोपाटीसँग कुरा गर्दै भने, “छठपछि विश्वासको मत लिनेछु।

    संविधानले दिएको ३० दिनभित्र नै तयारी पूरा गर्नेछु।” उनका अनुसार छठ पर्वको लामो बिदाका कारण प्रक्रिया केही ढिलो भएको हो। नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता युवराज भट्टराई र नेकपा (एकीकृत समाजवादी) का मन्त्री कनिष पटेलले पनि छठपछि विश्वासको मत लिनेमा ढुक्क हुन आग्रह गरेका छन्।

    जनमत पार्टीका संसदीय दलका नेता तथा बिना विभागीय मन्त्री महेश प्रसाद साहले भने, “हाम्रो मन्त्रालयको टुंगो लगभग लागेको छ, अब मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारी भइरहेको छ।” विश्वासको मतपछि तत्काल मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी मुख्यमन्त्री कार्यालयले जनाएको छ।

    हालको पाँचदलीय गठबन्धनमा जसपा नेपालका १८ सांसद, लोसपा नेपालका ८, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, र एकीकृत समाजवादीका ७ सांसद रहेका छन्। १०५ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५३ मत आवश्यक पर्छ। यो आधारमा गठबन्धनसँग स्थिर बहुमत रहेको देखिन्छ।

    पूर्वमुख्यमन्त्री सतीश सिंह र पूर्वमन्त्री त्रिभुवन साहले जनमत पार्टी फुटाएर स्वराज पार्टीमा सनाखत गरे पनि सर्वोच्च अदालतले सो विभाजनमा रोक लगाएको छ। त्यसैले उनीहरूलाई जनमत पार्टीकै ह्विप लाग्ने भएको छ। मुख्यमन्त्री सोनलले संविधानले तोकेको समयसीमा भित्रै विश्वासको मत लिएर सरकार स्थायित्वको संकेत दिन खोजेका छन्।

    गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडमा पनि सहमति नजिक पुगेको बताइँदैछ। छठ पर्वपछि मधेश प्रदेशमा नयाँ मन्त्रिपरिषद् विस्तार र राजनीतिक स्थायित्वको परीक्षा एकसाथ हुने देखिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ