रुकुमपूर्व । देशभर देउसी–भैलोको स्वर गुञ्जिँदै तिहारको रौनक छाएको छ। तर रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–१, मैकोटका बासिन्दा भने वर्षौंदेखि तिहार नमनाउने परम्परा पालन गर्दै आएका छन्।
वडाध्यक्ष वीरमान कामीका अनुसार पुर्खादेखि नै यो गाउँमा तिहार नमनाउने चलन रहिआएको हो। उनका शब्दमा, “हाम्रो समुदायमा हिन्दु र क्रिस्चियन दुवै आस्थाका मानिस छन्। क्रिस्चियनहरूले तिहार नमनाउनु स्वाभाविक हो, तर हिन्दुहरू पनि पुर्खाको परम्पराका कारण तिहार मनाउँदैनन्।”
हिमशृङ्खलाको फेदीमा अवस्थित मैकोट प्राकृतिक रूपमा अत्यन्तै चिसो र कठिन क्षेत्र हो। जाडो सुरु हुने यो समयमा वडावासीहरूका लागि खेतीपाती, गोठालो र घरगोठको तयारी नै मुख्य प्राथमिकता हुन्छ। कामी भन्छन्, “यो बेला खेतबारी, गोठ र अन्नबाली सबै जोहो गर्नुपर्छ। तिहारको रमझमभन्दा पनि चिसो कटाउने तयारी नै हाम्रो पर्व हो।”
स्थानीयहरू अहिले हरियो घाँस काटेर सुकाउने, गोठ मर्मत गर्ने र लेकमा रहेका गाईवस्तु घरतिर झार्ने काममा व्यस्त छन्। ‘तिहार आएको र गएको हाम्रो दैनिकीमा खासै फरक पार्दैन,’ उनीहरू भन्छन्।
गाउँका अमरजन पुनमगरका अनुसार तिहार नमनाउने चलन यहाँ निकै पुरानो हो। “करिब चार वर्षअघि गाउँका युवाहरूले तिहार मनाउने प्रयास गरेका थिए, तर त्यसपछि फेरि नमनाउने निर्णय भयो,” उनले बताए। “हाम्रो लागि यो समय खेतीपातीको व्यस्तता हुन्छ, त्यसैले सबैले कामलाई प्राथमिकता दिन्छौं।”
तर नयाँ पुस्तामा भने केही उत्सुकता देखिन थालेको छ। सहरमा देखिने तिहारको झल्कोका कारण गाउँका केही युवायुवतीले तिहारका बारेमा चासो देखाउन थालेका छन्। “केही युवाहरूले अब तिहार के हो भनेर खोज्न थालेका छन्,” पुनमगर भन्छन्।
प्रतिक्रिया