• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    हमासले छोड्यो २० इजरायली बन्दी, विपीनको न सास भेटियो न लास

    362
    SHARES

    काठमाडौं । दुई वर्षदेखि जारी इजरायल–हमास द्वन्द्वको पीडादायी अध्यायबीच आज एउटा उज्यालो किरण देखिएको छ। गाजामा बन्दी बनाइएका २० जना इजरायली नागरिकहरू हमासको कब्जाबाट मुक्त भएका छन्।

    यो कदम इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणको रूपमा आएको हो, जसअन्तर्गत इजरायलले करिब २,००० जना फलस्तीनी कैदीहरूलाई रिहा गर्ने बताइएको छ।

    आज पहिलो चरणमा सात जना र दोस्रो चरणमा १३ जना बन्दीलाई मुक्त गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उनीहरूलाई रेडक्रसमार्फत परिवारको जिम्मामा लगाइएको छ।

    मुक्त भएका बन्दीहरूमा दुई जना युवा सैनिक — २२ वर्षीय मातन एंग्रेस्ट र २० वर्षीय निम्रोड कोहेन — रहेका छन्, जसलाई २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरण गरिएको थियो। बाँकी पाँच जनामा भाइबहिनी जोडी गाली र जिभ बर्मन (२८ वर्ष), गुय गिल्बोआ दालाल (२६ वर्ष), एइतान मोर (२५ वर्ष) र अन्य युवा सहभागी छन्। यीमध्ये धेरैजसो नोभा संगीत महोत्सवमा उपस्थित थिए, जहाँ हमासको आक्रमणमा सयौं मानिस मारिएका थिए।

    इजरायली सरकारले सोमबार बिहान सार्वजनिक गरेका तस्बिरहरूमा मुक्त बन्दीहरू परिवारसँग अँगालोमा समाउँदै रोइरहेका देखिन्छन्। बन्दी फिर्ता कार्यक्रमको प्रत्यक्ष प्रशारण समेत गरिएको थियो, जसलाई हेर्न इजरायलभर लाखौं नागरिक जुटेका थिए।

    इजरायली सेनाका अधिकारीहरूले मुक्त बन्दीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षणपछि अस्पतालमा उपचारका लागि पठाइएको बताएका छन्।
    इजरायली प्रधानमन्त्री बेंजामिन नेतन्याहुका प्रवक्ताले भनेका छन् — “यो दिन आनन्द, राहत र खुशीको दिन हो।”

    यो सम्झौता इजरायलको सैन्य अभियान र हमासको प्रतिरोधबीच लामो वार्तापछि सम्भव भएको हो। २०२३ अक्टोबर ७ मा हमासको आक्रमणमा १,२०० भन्दा बढी इजरायली मारिएका थिए भने २५१ जनालाई अपहरण गरिएको थियो। त्यसको जवाफमा इजरायलको कारबाहीले गाजामा ६७,००० भन्दा बढी फलस्तीनीको ज्यान गएको छ।

    सम्झौताअन्तर्गत हाल २० जना जीवित बन्दीहरू र २८ जनाको शव फिर्ता हुने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस अवसरमा इजरायलको संसद् (केनेसेत) मा सम्बोधन गर्ने तयारी गरेका छन्, जसलाई ‘गाजा युद्ध अन्त्यको संकेत’ का रूपमा हेरिएको छ।

    फलस्तीनी पक्षमा पनि खुशीको लहर छ। गाजास्थित नासिर अस्पताल परिसरमा १,७०० भन्दा बढी फलस्तीनी कैदीहरूको स्वागतको तयारी भइरहेको छ, जसमा धेरैजना अक्टोबर ७ पछि बिनामुद्दा थुनामा राखिएका थिए।

    तर, यो युद्धविरामले स्थायी शान्ति ल्याउँछ कि ल्याउँदैन भन्ने प्रश्न अझै खुला छ। यही सन्दर्भमा मध्यस्थकर्ताहरूले मंगलबार इजिप्टको शर्म एल–शेखमा शान्ति सम्मेलन आयोजना गर्दैछन्, जहाँ २० भन्दा बढी देशका नेताहरू सहभागी हुनेछन्।

    यसबीच, इजरायल–हमास द्वन्द्वका क्रममा बेपत्ता भएका नेपाली युवामध्ये विपीन जोशीको अवस्था अझै अज्ञात छ। न सास भेटिएको छ, न लास। इजरायली सेनाले उनी जीवित नरहेको संकेत गरे पनि, हमासले रिहा गरेका बन्दीहरूको सूचीमा उनको नाम छैन। मृतकको सूचीमा पनि उनको नाम समावेश छैन। परिवारजन भने अझै पनि उनी फर्किने आशामा छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ