काठमाडौँ । सुन तस्करी प्रकरणमा यसअघि नाम मुछिए पनि उन्मुक्ति पाएका पूर्वउपराष्ट्रपति तथा नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष नन्दबहादुर पुन (पासाङ) पुनः प्रहरी अनुसन्धानको दायरामा आएका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पुनमाथि औपचारिक रूपमा अनुसन्धान सुरु गरेको पुष्टि भएको छ। पूर्वउपराष्ट्रपति पुनका जेठा छोरा जितेन्द्र पुन, कान्छा छोरा तथा अखिल (क्रान्तिकारी) का पूर्वमहासचिव दिपेश पुन, र उपराष्ट्रपति हुँदा उनका सल्लाहकार जीवनकुमार गुरुङमाथि पनि अनुसन्धान अघि बढाइएको सिआइबी स्रोतले जनाएको छ।
स्रोतका अनुसार, दुई वर्षअघि नै जितेन्द्र पुनले चिनियाँ सिमानासम्म पुगेर तमसुक (लेनदेन सम्झौता) गरी करिब ४ किलो सुन बुझेको प्रमाण सार्वजनिक भएको थियो। उनले उच्च पदको प्रभाव प्रयोग गरी सुन तस्करी सहज बनाएको आरोप लगाइएको छ।
रोल्पा स्थायी घर भएका जितेन्द्र पुनले हुम्लाको नागरिकता प्रमाणपत्र तयार गरी ताक्लाकोट क्षेत्रमा आवाजाहीलाई सहज बनाएको पनि अनुसन्धानमा खुलेको बताइएको छ। हुम्लाको नागरिकता प्रयोग गरेपछि उनलाई चीन प्रवेशका लागि भिसा आवश्यक पर्दैन।
सुनको भुक्तानी नदिएपछि चिनियाँ व्यापारीहरूले तत्कालीन उपराष्ट्रपति पुनसँग सम्पर्क गरेको र सो क्रममा घटनाको जानकारी बाहिर आएको प्रहरी अनुसन्धानले देखाएको छ। अहिले जितेन्द्र पुन नेपालमा छैनन् र उनी अमेरिकामा रहेको बताइएको छ।
यसअघि १९ मंसिर २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद १४ किलो सुन प्रकरणमा सल्लाहकार जीवनकुमार गुरुङ पक्राउ परेका थिए। उनी पछि धरौटीमा छुटेका थिए।
संगठित अपराध निवारण ऐन, २०७० अनुसार, ‘कसैले आपराधिक समूहको लाभका लागि वा निर्देशनमा गम्भीर अपराध गरेमा’ सो व्यक्तिलाई संगठित अपराधी मानिने व्यवस्था छ। यही कानुनी प्रावधानअनुसार पुनमाथि पनि कृष्णबहादुर महराको जस्तै संगठित अपराध र आपराधिक लाभको मुद्दामा अनुसन्धान हुने बताइएको छ।
साथै, सार्वजनिक पदमा रहेर व्यक्तिगत लाभ लिन सक्ने आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पूर्वउपराष्ट्रपति पुनमाथि छुट्टै अनुसन्धान थालेको स्रोतले जनाएको छ।
प्रतिक्रिया