विराटनगर। जेन–जी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको एउटा राइफल झापामा फेला परेको छ। झापा प्रहरीका प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार भदौ २४ गते लुटिएको .३०३ मार्क–३ राइफल म्यागेजिनसहित आज बिहान फेला परेको हो।
दमक नगरपालिका–५ स्थित धनेश्वर मन्दिरनजिक बेवारिसे अवस्थामा बन्दुक देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरी टोली पुगेको र उक्त राइफल सुरक्षित नियन्त्रणमा लिइएको प्रवक्ता खड्काले बताए।
जेन–जी आन्दोलनका क्रममा अराजक समूहले इलाका प्रहरी कार्यालय दमकबाट सो राइफल लुटेको थियो। प्रहरीका अनुसार, भदौ २४ गते झापाका विभिन्न प्रहरी युनिटबाट २३ वटा हतियार अझै फेला परेका छैनन्।
आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोड र दमकबाट हराएका ८५ थान साना–ठूला हतियार आन्दोलनकारीहरूले प्रहरीलाई बुझाइसकेका छन्। तर अझै पनि झापाबाट लुटिएका २३ थान हतियार, १ सय ८० सेल अश्रुग्याँस र ५ हजार ६ सय ९० राउन्ड गोली भेटिएका छैनन्।
यसअघि, हिजो मात्रै झापाको कमल गाउँपालिकामा ५५ राउन्ड गोली फेला परेको प्रहरीले जनाएको छ। स्थानीय गङ्गाप्रसाद पाण्डेले केराबारी क्षेत्रमा भेटिएका एसएलआरको ५५ राउन्ड गोली देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रतिक्रिया