• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय समाचार

    युक्रेनमा पश्चिमा सुरक्षा प्रस्ताव अस्वीकार, सेनालाई निशाना बनाउने पुटिनको चेतावनी

    52
    SHARES

    मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेरिसमा सम्पन्न शिखर बैठकपछि युक्रेनमा युद्धविराम भएलगत्तै पठाइने भनिएको ‘रिअस्युरेन्स फोर्स’ (सैन्य बल) सम्बन्धी पश्चिमा देशहरुको प्रस्ताव अस्वीकार गरेका छन्।

    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले बिहीबार २६ वटा मित्रराष्ट्रहरूले युद्ध रोकिएलगत्तै भूमि, समुद्र वा हवाई मार्गबाट सुरक्षा बल पठाउने प्रतिबद्धता जनाएको बताएका थिए। तर उनले कुन–कुन देश सहभागी हुने भन्नेबारे खुलाएका छैनन्।

    पुटिनले सो पहललाई अस्वीकार गर्दै यस्ता विदेशी सैनिकलाई ‘वैध लक्ष्य‘ ठहरिने चेतावनी दिएका छन्। उनले भने, ‘अवैध रूपमा युक्रेनमा देखापर्ने कुनै पनि सेना आक्रमणको लक्ष्य हुनेछ।’

    अलास्कामा गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर बैठकपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीलाई समेत सहभागी गराएर सम्भावित शान्ति सम्झौता हुने आशा जागेको थियो। तर अहिले तत्काल युद्धविराम हुने सम्भावना न्यून देखिएको छ।

    पुटिनले शुक्रबार पत्रकारहरूसँग भने, ‘म युक्रेनी नेतासँग सम्पर्क गर्न तयार छु, तर खासै अर्थ देख्दिनँ, किनकि मुख्य विषयमा सहमति सम्भव छैन।’

    त्यसैबिच, ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘भारत र रुस गहिरो रूपमा चीनतर्फ ढल्किएको’ दाबी गर्दै तीन देशका नेताहरूको तिञ्जिनमा भएको बैठकको तस्बिरसमेत साझा गरेका छन्।

    पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको पहललाई ‘धेरै नै रचनात्मक’ भन्दै प्रशंसा गरे पनि युरोपेली मुलुकहरूको प्रयासलाई ‘युद्धलाई लम्ब्याउने काम’ भनेर आलोचना गरेका छन्।

    ‘कोएलिसन अफ द विलिङ’ नामक गठबन्धन (बेलायत र फ्रान्सको नेतृत्वमा) युद्धविराम भएपछिको सुरक्षाका लागि तयारी गरिरहेको छ। यसअन्तर्गत युक्रेनको सेना बलियो बनाउने र सीमा क्षेत्रमा सुरक्षा गस्ती गर्ने योजना रहेको छ।

    म्याक्रोनले सुरक्षा बललाई ‘नयाँ ठुलो आक्रमण रोक्नका लागि मात्र’ पठाइने स्पष्ट पारेका छन्। उनले भने, ‘यो बलको उद्देश्य रुससँग युद्ध गर्ने होइन।’

    युक्रेनी राष्ट्रपति जेलिन्स्कीले पेरिस बैठकमा गरिएको निर्णयलाई ‘पहिलो ठोस कदम’ भनेका छन्। उनले हजारौँ विदेशी सैनिक युक्रेन पठाइने बताए पनि अझै यसबारे विस्तृत खुलासा गर्न समय बाँकी रहेको जनाएका छन्।

    अमेरिकाले आफ्नो भूमिका खुलेर बताएको छैन। म्याक्रोनका अनुसार केही दिनमै वासिङ्टनको सहभागिता स्पष्ट हुनेछ। ट्रम्पले अघिल्लो हप्ता अमेरिकाको सहयोग ‘हवाई सुरक्षामा’ केन्द्रित हुने सङ्केत दिएका थिए।

    पुटिन र ट्रम्पबिच निकट भविष्यमा पुनः संवाद हुने भएको छ। दुवै नेताले ‘खुला र सकारात्मक संवाद’ भइरहेको बताएका छन्।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ