काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे षड्यन्त्र भएको बताएका छन्।
बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पाण्डेले कुलिङ पिरियडमा लामो छलफलपछि सहमतिमा पुगेको विषय प्रतिवेदनमा नआउनुमा छेडखानी मात्र नभइ षड्यन्त्र नै रहेको बताएका हुन्।
यसमा समितिका सचिवदेखि सभापति सबैमाथि छानबिन हुनुपर्ने उनले बताए। त्यसका लागि समितिबाट नभई प्रतिनिधि सभाबाटै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने उनको माग छ।
‘विषय समितिको सभापतिमाथि उठेकाले समितिले आन्तरिक छानबिन गरेर हुँदैन। उच्चस्तरीय समिति बनाउनुपर्छ र सबैमाथि छानबिन हुनुपर्छ,’ उनले भने। उनले कुलिङ पिरियड २ वर्ष लागू हुनुपर्ने बताए।
पाण्डेले संसदबाट पारित भएको विधेयकमा सच्याउनका लागि समितले तत्काल पहल गर्नुपर्ने बताए। ‘राष्ट्रिय सभामा उक्त विषय सच्चियोस् भनेर समितिबाटै पठाउनुपर्छ,’ उनले भने। यस विषयमा सभापतिले नै राजीनामा दिने विषय भने व्यक्तिगत भएको पाण्डेले बताए।
‘नैतिकताका विषय व्यक्तिगत उहाँले नै प्रदर्शन गर्ने हो । विश्वास, माया, आदर भन्ने मागेर पाइने होइन। कुलिङ पिरियड राख्नुपर्छ भनेर सबैभन्दा बढी बोल्ने उहाँ नै हो। फेरि हस्ताक्षर उहाँकै छ,’ पाण्डेले भने।
प्रतिक्रिया