काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा रहेका युनुस अन्सारीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका छन् ।
शुक्रबार अन्सारीले सीआईबीको आर्थिक तथा वित्तीय अपराध अनुसन्धान महाशाखासमेतलाई प्रतिपक्षी बनाउँदै शुक्रबार उच्च अदालत पाटनमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
अन्सारीले दायर गरेको उक्त रिटमा आज आइतबार सुनुवाइ सुरु भएको छ । उच्च अदालत पाटनका न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा अन्सारीको रिटको सुनवाइ सुरु भएको हो ।
१० जेठमा तोकिएको सजाय भुक्तान गरेर ललितपुरको नख्खु कारागारबाट छुटेलगत्तै अन्सारीलाई सीआईबीले पक्राउ गरेको थियो ।
उनीमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएको थियो । त्यसयता उनी सीआईबीको हिरासतमा छन् । गैरकानूनी रुपमा हिरासतमा राखेको भन्दै अन्सारीले रिट दायर गरेका थिए । सोही रिटमा सुनुवाइ सुरु भएको हो ।
२०७६ जेठ १० मा युनुससहित ६ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । उनीहरुबाट ७ करोड ७६ लाख नक्कली भारु नोट बरामद भएको थियो ।
कतारबाट काठमाडौं आउने तीन पाकिस्तानी नागरिकहरुमा राहदानी नम्बर एए १२४५४९४ वाहक ४९ वर्षीय मोहम्मद अख्तर, एआर २४०६४३२ वाहक ६७ वर्षीय नासिर उद्दिन र राहदानी नं. सीएन १८१२०३२ वाहक ३९ वर्षीय नादिया अनवर पक्राउ परेका थिए । उनीहरु कराँचीबाट कतार हुँदै नेपाल आएका थिए ।
यीनै तीन जना पाकिस्तानी नागरिकलाई लिन पुगेका युनुससँगै रौतहटको बैरिया–१ का सुबल खान र भक्तपुरको बालकोटका रानाभाट पक्राउ परेका थिए ।
यो घटनामा उनलाई दोषी ठहर गर्दै ६ वर्ष कैद ६० हजार रुपैयाँ जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय भएको थियो । ६ वर्ष कैद भुक्तान गरेर हिजो शनिबार मात्रै छुटेका थिए । लगत्तै सीआईबीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया