
जनकपुरधाम । मधेश प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले सरकारबाट बाहिरिनेसम्मको चेतावनी दिएको छ। आफूले रोजेको मन्त्रालय नपाएको झोकमा जनमतका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वसन्त कुशवाहाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका हुन्।
सोमबार भएको मन्त्रीपरिषद् विस्तारमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय नेकपा (एकीकृत समाजवादी) लाई दिइएपछि जनमत पार्टी असन्तुष्ट बनेको हो। २१ गते विनाविभागीय मन्त्री नियुक्त भएका एकीकृत समाजवादीका कनिष पटेललाई उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
यसअघि सोही मन्त्रालय सम्हालिसकेका जनमत नेता कुशवाहाले मधेश प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत दयनीय अवस्थामा पुगेको टिप्पणी गरेका छन्। उनले चालू आर्थिक वर्षमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत १० हजार रोजगारी सिर्जना गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको स्मरण गराउँदै भागबन्डाको नाममा मन्त्रालय अरूलाई दिनु रोजगारी कार्यक्रम नै अलपत्र पार्ने कदम भएको उल्लेख गरेका छन्।
“जनमत पार्टीको उद्देश्यअनुसार सरकारमा सुनिश्चितता नहुँदा मधेश प्रदेश सरकारबाट अलग हुन तयार हुनुपर्छ,” कुशवाहाले सामाजिक सञ्जालमा लेख्दै चेतावनी दिएका छन्।
हाल सातदलीय गठबन्धनअन्तर्गत जसपा र जनमतबाहेकका दल एक–एक मन्त्रालयसहित सरकारमा सहभागी भइसकेका छन्। जनमत पार्टीले भने अर्थ मन्त्रालय लिएको छ, जहाँ संसदीय दलका नेता महेश प्रसाद यादव अर्थमन्त्रीको जिम्मेवारीमा छन्।



प्रतिक्रिया