• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आजदेखि सुरु भयो नेपाल संवत् ११४६

    167
    SHARES

    काठमाडौं । मौलिक नयाँ वर्षको रूपमा मानिने नेपाल सम्वत् ११४६ आज देशभर विविध सांस्कृतिक कार्यक्रमहरूका साथ मनाइँदैछ। विशेषगरी नेवार समुदायले यस दिनलाई नयाँ वर्षको रूपमा उल्लासपूर्वक मनाउने परम्परा रहेको छ। नेपाल सम्वत्को सुरुवात राष्ट्रिय विभूति शंखधर साःख्वाले वि.सं. ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन गरी गरेका थिए। उनी सामाजिक न्याय, समता र मानवसेवाका प्रतीकका रूपमा चिनिन्छन्।

    लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रिरत्न मानन्धरका अनुसार नेपाल सम्वत् नेपालको मौलिक राष्ट्रिय सम्वत् हो, जसले लिच्छविकालका राजा राघवदेवको शासनकालदेखि पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको थियो।

    “लिच्छविकालअघि शक सम्वत् चलनमा थियो, तर राघवदेवको शासनकालमा सुरु भएको नेपाल सम्वत् नेपालको नाममा आधारित भएकाले यो मौलिक र राष्ट्रिय सम्वत् हो,” डा. मानन्धरले बताए। वि.सं. २००७ मा प्रजातन्त्र स्थापना भएपछि नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिलाउने अभियान चलाइएको थियो। हाल यसलाई नयाँ वर्षको रूपमा काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदाय बसोबास भएका क्षेत्रमा विशेष रूपमा मनाइन्छ।

    वि.सं. २०५६ सालको नयाँ वर्षको दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साःख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए। त्यसैगरी, वि.सं. २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल सम्वत्लाई राष्ट्रिय मान्यता दिने घोषणा गरेका थिए।

    नेवार समुदायमा अझै पनि कात्तिक कृष्ण औँसीका दिन पुराना बहीखाता बन्द गरी, कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बहीखाता सुरु गर्ने परम्परा जीवित छ। यसरी नेपाल सम्वत् केवल कालगणना मात्र नभई सांस्कृतिक, सामाजिक र ऐतिहासिक चेतनाको प्रतीकका रूपमा निरन्तर जीवित रहँदै आएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ