सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा जुवातास खेल्दै आएका सात जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार खाँदबारी नगरपालिका–१ बसपार्कस्थित जीतकुमार राईको होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले गएराति ७ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले गोप्य सूचनाका आधारमा होटलमा छापा मार्दा घरधनीसहित सात जना पक्राउ परेको जानकारी दिए। उनका अनुसार उनीहरूको साथबाट रु १ लाख ७२ हजार ९३५ नगद, १६ वटा कौडा, र चार बुङ (थान) तास समेत बरामद गरिएको छ।
पक्राउ परेकामाथि जुवातास ऐनअन्तर्गत कानूनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यसैगरी, प्रहरीले पटकजन्य वस्तु बिक्री वितरण गरेको आरोपमा दुई जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१० का १८ वर्षीय सुजन चौधरी र सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय जमाल अन्सारी रहेका छन्।
उनीहरूलाई खाँदबारी–१ बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको र हाल थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया