• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा गरे युवकको हत्या

    408
    SHARES

    काठमाडौँ । ललितपुरस्थित नख्खु कारागारबाट फरार एक कैदीले काठमाडौँको ठमेलमा एक युवकको हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार फरार कैदी आकाश मगरले १३ असोजको राति सुरज तामाङको खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

    मकवानपुर घर भई हाल मनमैजु बस्दै आएका २५ वर्षीय तामाङलाई ठमेलको सडकमा खुकुरी प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा उनीलाई उपचारका लागि वीर अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पुरानो रिसइबीका कारण हत्या भएको हुनसक्ने देखिएको छ।

    आकाश मगर ‘लुटपाट तथा डकैतीको मुद्दा’मा जेल सजाय काटिरहेका थिए। उनी गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कारागार तोडफोड गर्दै भागेका थिए। हत्यापछि उनी अझै फरार रहेका छन्। घटनास्थल वरपरका सीसीटीभी फुटेज, प्राविधिक र म्यानुअल अनुसन्धानका आधारमा हत्यामा मगरको संलग्नता पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ। तर, उनलाई अहिलेसम्म पक्राउ गर्न सकिएको छैन।

    यसअघि पनि फरार कैदीबाट हत्या

    यसअघि पनि नख्खु कारागारबाटै फरार भएका काभ्रेका सन्तबहादुर तामाङले आफ्नै श्रीमती मनिषा तामाङको हत्या गरेका थिए। लगातार फरार कैदीहरू आपराधिक क्रियाकलापमा संलग्न हुन थालेपछि अहिले राजधानी र वरपरका क्षेत्रमा सुरक्षा सतर्कता उच्च स्तरमा पुगेको प्रहरीले जनाएको छ।

    आयोगले माग्यो फरार कैदीको विवरण

    फरार कैदीहरूको विषयमा विशेष अदालतका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले कारागार व्यवस्थापन विभागसँग फरार कैदीबन्दीहरूको विस्तृत विवरण मागेको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार, आयोगले फरार कैदीहरूको सूची, क्षति भएका कारागारहरूको अवस्था र सुरक्षासम्बन्धी कमजोरीबारे विवरण माग गरेको हो।

    देशभर १५ हजारजति कैदी फरार

    २४ भदौमा सुरु भएको जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारबाट पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित कैदीबन्दीहरू बाहिर निस्किएपछि देशभरकै कारागारहरूमा तोड़फोड र आगजनीका घटना फैलिएका थिए।

    विभागका तथ्यांक अनुसार त्यस क्रममा १५ हजारको हाराहारीमा कैदीबन्दीहरू फरार भएका थिए। हाल पनि करिब साढे पाँच हजार कैदीबन्दी फरार अवस्थामै रहेको बताइएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ