काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएपछि हमास लडाकुले मुक्त गर्न लागेका २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर सो सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम भने समावेश छैन। इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, सोमबारभित्र छाड्ने भनिएका २० जना सबै इजरायली नागरिक हुन्। “मुक्त हुने सूचीमा विपिनको नाम छैन,” उनले बताए।
अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध रोक्ने सहमति विहीबार भएको थियो। त्यसको पहिलो चरणमा हमासले आफ्नो कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको हो। इजरायलको किबुत्ज शहरबाट हमासको कब्जामा परेका विपिनको अवस्थाबारे अझै स्पष्ट जानकारी छैन।
राजदूत पण्डितका अनुसार, उनी इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेर विपिनको अवस्था बुझ्ने प्रयासमा छन्। तर, अहिलेसम्म ठोस जानकारी प्राप्त नभएको उनले बताए। उनले भने, “अहिलेसम्म विपिनको जीवनबारे कुनै निश्चित जानकारी छैन। तर, छिट्टै केही जानकारी प्राप्त हुने आशा राखेका छौं।”
परराष्ट्र मन्त्रालयका अधिकारीहरू पनि विपिनको अवस्था पत्ता लगाउने प्रयास भइरहेको तर निश्चित विवरण प्राप्त नभएको बताउँछन्। मन्त्रालयका एक कर्मचारीका अनुसार, “इजरायल सरकारको तर्फबाट विपिनको बारेमा जुनसुकै अवस्थाको सूचना आउन सक्छ, त्यसका लागि परिवारलाई तयार रहन भन्नुहोस् भन्ने सन्देश आएको छ।”
कञ्चनपुरका विपिन जोशी अध्ययनका सिलसिलामा इजरायल पुगेका थिए। गत अक्टोबर ७, २०२३ मा हमासले किबुत्ज क्षेत्रमा आक्रमण गर्दा उनी बन्धक बनेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। हमास लडाकुहरूले विपिनलाई आफूसँगै लिएर गएका थिए। सन् २०२३ नोभेम्बर १७ मा उनी गाजाको अल शिफा अस्पतालमा देखिएका थिए, तर त्यसपछि उनको अवस्था अज्ञात बनेको छ।
बुधबार साँझ सार्वजनिक गरिएको ३३ सेकेन्डको भिडियो पनि पुरानो दृश्य भएको राजदूत पण्डितले बताएका छन्।
प्रतिक्रिया