काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा अवस्था र पछिल्ला राजनीतिक गतिविधिबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन, राजधानीमा देखिएका सुरक्षा चुनौतीहरू र सार्वजनिक शान्ति–सुरक्षासम्बन्धी विषयमा विस्तृत छलफल भएको गृह मन्त्रालय स्रोतले जनाएको छ। स्रोतका अनुसार गृहमन्त्री अर्यालले तीनवटै सुरक्षा निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउन निर्देशन दिएका छन्।
विशेषगरी राजधानी काठमाडौंमा पछिल्लो समय बढ्दै गएको अपराध, भीड नियन्त्रण र राजनीतिक गतिविधिका कारण देखिएको सुरक्षासम्बन्धी जोखिमबारे पनि समीक्षा गरिएको छ। मन्त्री अर्यालले देशभर स्थायित्व, जनताको सुरक्षाप्रतिको विश्वास र आकस्मिक अवस्थाको तयारीका लागि सबै निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रतिक्रिया