विराटनगर । हालैको बाढी र पहिरोले घर भत्किएका तथा बगाएका पीडित परिवारका घरहरू कोशी प्रदेश सरकारले पुनर्निर्माण गरेर बनाइदिने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले सम्पूर्ण प्रभावित घरहरू सरकारकै जिम्मेवारीमा पुनर्निर्माण गर्ने निर्णय गरेको हो।
सबैभन्दा बढी क्षति भएका जिल्लामा तत्काल पुनर्निर्माण सुरु
बैठकले इलाम, झापा र मोरङ जिल्लाका क्षतिग्रस्त घरहरूको पुनर्निर्माण तत्काल सुरु गर्ने निर्णय गरेको छ। प्रदेश सरकारले घरहरूको विस्तृत विवरण संकलन गर्दै पुनर्निर्माण कार्यलाई एकैसाथ अगाडि बढाउने बताएको छ। त्यस्तै, इलाम जिल्लाका सातवटा स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि परिषद्ले गरेको छ।
विपद् प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाको समन्वय गर्न विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ — इलाममा: आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई, र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारी, सुनसरीमा: वन, पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डल र कानुन मन्त्री भण्डारी, झापामा: खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्की, यी टोलीहरूले स्थलगत निरीक्षण गर्दै फिल्डमै पुनर्निर्माण कार्य तीव्र बनाउने जिम्मेवारी पाएका छन्।
बैठकले चालु आर्थिक वर्षका खर्च र योजनाहरू पुनरावलोकन गरी आवश्यक कटौती गरेर पुनर्निर्माणमा खर्च गर्ने सिफारिस पनि गरेको छ। त्यस्तै, भौतिक पूर्वाधार मन्त्रालयलाई सबै अवरुद्ध सडक खुलाउन तत्काल संयन्त्र परिचालन गर्ने निर्देशन दिइएको छ।
प्रतिक्रिया