रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–६ कर्कच गाउँमा सोमबारदेखि बेपत्ता भएका दुई बालिकाको शव फेला परेका छन्। स्थानीय रामदयाल रामकी १२ वर्षीया छोरी आरती राम र शिवधारी रामकी ११ वर्षीया छोरी अन्तिमा कुमारीको शव मंगलबार बिहान भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार उनीहरू हिजो दिउँसो खेतमा बग्ने पानीको खोल्सामा नुहाउने क्रममा बेपत्ता भएका थिए। निरन्तर खोजीपछि आरतीको शव बिहानै फेला पारिएको र अन्तिमाको शव केही टाढा जलकुम्भीमा अड्किएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
यसैबीच, रौतहटकै राजपुर नगरपालिका–८ बलुवा गोठ टोलका १० वर्षीय अरबाज मिया सोमबार दिउँसो लालबकैया नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक अरबाज स्थानीय गोनउर मियाका छोरा हुन्।
जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी राजु कार्कीका अनुसार हालसम्म रौतहटमा बाढीपानीमा डुबेर मृत्यु हुनेको संख्या ४ जना पुगेको छ भने २ जना युवकको चट्याङ लागेर मृत्यु भएको छ।
प्रतिक्रिया