• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रौतहटको सदरमुकाम गौर अझै डुबानमा, आवागमन ठप्प

    301
    SHARES

    रौतहट । लगातारको वर्षापछि आएको बाढीका कारण रौतहटको सदरमुकाम गौर अझै डुबानमा रहेको छ। पानीको निकास नहुँदा बजार क्षेत्र जलमग्न रहँदा आवागमन पूर्ण रूपमा अवरुद्ध बनेको छ।

    गौर–चन्द्रनिगाहपुर मुख्य सडकखण्ड अन्तर्गत गौर नगरपालिका–६ सबगढा गाउँ नजिकको लच्कामा बाढीको तीव्र बहावका कारण सडक डुबानमा परेपछि गौरसँगको सिधा आवागमन बन्द भएको हो। गौर बजारबाट करिब पाँच किलोमिटर उत्तर सबगढासम्म मात्र सवारी साधन पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताएका छन्।

    त्यसपछि पैदल हिँड्न समेत कठिन भएको उनीहरूको भनाइ छ। सीमा क्षेत्रमा भारतले निर्माण गरेको बाँधका कारण बर्सेनि गौर डुबानमा पर्ने गरेको र यस वर्ष पनि सोही कारण पानीको निकास नहुँदा समस्या झन् गम्भीर बनेको बताइएको छ।

    मौसम सोमबारदेखि खुलेको भए पनि गौर बजार अझै जलमग्न रहँदा स्थानीय बासिन्दा र व्यापारीहरू हिँडडुल र आवतजावतमा समस्या भोगिरहेका छन्। डुबानका कारण जिल्लास्थित सरकारी कार्यालयहरू सञ्चालन हुन नसक्दा सेवाग्राहीहरू मारमा परेका छन्।

    मुख्य नदीहरू बागमती र लालबकैयामा पानीको सतह केही घटे पनि निकास अवरुद्ध भएकाले बजार क्षेत्रमा डुबानको अवस्था यथावत छ। डुबानका कारण नेपाल–भारत आवागमन पनि कठिन बनेको छ। सशस्त्र प्रहरी बलले रबर बोटमार्फत स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य निरन्तर जारी राखेको छ।

    त्यस्तै, बौधीमाइ नगरपालिका–इनरवारी हुँदै देवाही गोनाहीतर्फ जाने बाटो पनि बाढीले अवरुद्ध पारेको छ। जयनगर–कलैया सडकखण्ड अन्तर्गत सनारानिया गाउँभन्दा पश्चिम करिब ७–८ फिट कालोपत्रे सडक बगाउँदा सवारी सञ्चालन असम्भव भएको छ।

    स्थानीयहरू अहिले बाँसको लच्का राखेर पैदल, साइकल र मोटरसाइकल वारिपारि गर्दै आवतजावत गरिरहेका छन्, जसका कारण यातायात र जनजीवन ठप्प भएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ