काठमाडौँ । जेन–जी आन्दोलनपछि नेकपा (एमाले)भित्र पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनपछिका घटनाप्रति राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने आवाज बढ्दो छ।
संविधान र व्यवस्थामै धक्का पुग्नेगरी भएको राजनीतिक परिवर्तनपछि ओलीले पार्टी नेतृत्व छाड्नुपर्ने दबाब तीव्र बनेको भए पनि यो विषय अझै कुनै औपचारिक बैठकमा प्रवेश गरेको छैन। एमालेका नेताहरूबीच ओलीको विकल्पबारे फरक–फरक धारणा देखिएका छन्।
महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र प्रदीप ज्ञवालीलगायतले अहिले नेतृत्व परिवर्तन उपयुक्त नभएको बताउँछन्। तर अन्य अधिकांश नेताहरूले ओलीले नेतृत्व छाडेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक अध्यक्ष बनाएर महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्।
यसबीच, पार्टीभित्र पूर्वराष्ट्रपति विद्या भण्डारी पक्ष पनि सक्रिय बनेको छ। भण्डारीलाई पार्टीमा औपचारिक रूपमा इन्डोर्स गर्ने प्रयास भइरहेको र त्यो सफल नभए ओलीको विकल्पका रूपमा ईश्वर पोखरेललाई अघि सार्ने तयारी भएको स्रोत बताउँछ।
एमालेका सचिवालय र केन्द्रीय समितिभित्र ओली अल्पमतमा परेका दाबी गरिएको छ। सचिवालयका एक सदस्यका अनुसार, ओलीले आन्दोलनपछिका कमजोरी स्विकार नगरेकाले नेतृत्व परिवर्तनको माग बढेको हो।
‘ओलीकै अध्यक्षतामा महाधिवेशन आयोजना गरेर उनलाई बिदा गर्ने वा ईश्वर पोखरेललाई अघि सार्ने विषयमा छलफल भइरहेको छ,’ एक केन्द्रीय सदस्यले भने। उनका अनुसार, आन्दोलन र त्यसपछिका घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्षको रूपमा ओलीले लिनुपर्ने अवस्था आएको छ।
पार्टीका नेताहरूका अनुसार असोज २४ गते बस्ने सचिवालय बैठकले जेन–जी आन्दोलनपछिको मूल्यांकन र नेतृत्वका विषयमा गम्भीर छलफल गर्नेछ। त्यसपछि असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा महाधिवेशनको मिति समेत तोकिने सम्भावना छ।
प्रतिक्रिया