काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सचिवालय बैठक आज सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने भएको छ । बैठकमा सहभागी सचिवालय सदस्य हरिबोल गजुरेलले बैठकका एजेन्डा तथा समय तालिका सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन् ।
उनका अनुसार बैठकमा पार्टीको विशेष महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोटको प्रक्रिया, तयारी समिति गठन र आगामी संगठनात्मक संरचना सम्बन्धी विषयमा विस्तृत छलफल हुनेछ । गत असोज ९ र १० गते सम्पन्न केन्द्रीय समिति बैठकले वर्तमान केन्द्रीय समितिलाई विघटन गर्दै मंसिरको अन्तिम हप्तामा विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
त्यसै निर्णयअनुसार केन्द्रीय समितिले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको थियो । सोही बैठकले पूर्वपदाधिकारीहरुलाई सचिवालयमा रूपान्तरण गर्ने निर्णय समेत गरेको थियो ।
पार्टी स्रोतका अनुसार आजको बैठकले आगामी महाधिवेशनको थीम, प्रतिनिधि संख्या, मिति र स्थान अन्तिम टुंगो लगाउने सम्भावना छ । साथै, बैठकमा आन्तरिक संगठन सुदृढीकरण र गठबन्धन सरकारप्रतिको नीति विषयमा पनि प्रारम्भिक बहस हुने बताइएको छ ।
प्रतिक्रिया