काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक यातायात ठप्प भएको छ । विशेषगरी कोशी र बागमती प्रदेशका १९ स्थानमा सडक पूर्णरूपमा अवरुद्ध भएका छन् । कोशी प्रदेशका ८ र बागमती प्रदेशका ११ स्थानमा सडक अवरोध कायम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण राजमार्ग, मध्यमपहाडी लोकमार्ग र मेची राजमार्गका विभिन्न खण्डमा ठूला–ठूला पहिरो खसेका छन् । यसले गर्दा स्थानीय आवागमन मात्रै होइन, प्रदेशगत मालसामान ढुवानी पनि प्रभावित भएको छ । धेरै ठाउँमा सडकमा एक मिटरभन्दा बढी फोहोरपानी र ढुंगा–माटो थुप्रिएको प्रहरी स्रोतले जनाएको छ ।
त्यस्तै बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्गका केही खण्डमा पहिरो र बाढीका कारण यातायात पूर्णरूपमा रोकिएको छ । नेपाल–चीन जोड्ने प्रमुख सीमा सडक पनि अवरुद्ध भएको छ ।
कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्डमा समेत ठूला ढुंगा र माटोको थुप्रोले बाटो पूर्णरूपमा बन्द भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार अधिकांश ठाउँमा सडक डोजर र एक्साभेटर प्रयोग गरी सफा गर्ने प्रयास भइरहेको छ, तर निरन्तर वर्षा जारी रहेकाले काम सुचारु गर्न कठिनाइ भएको छ ।
सडक विभागका अनुसार प्रभावित क्षेत्रका स्थानीय निकाय र प्रदेश सरकारसँग समन्वय गरी अवरुद्ध सडक खुलाउने कार्य भइरहेको छ । तर, कतिपय स्थानमा सडकको तलतिरको संरचना समेत भासिएको हुनाले तत्काल खुलाउने सम्भावना न्यून रहेको बताइएको छ ।
प्रतिक्रिया