
रुकुमपूर्व । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, एयरपोर्टनजिकै घरको कम्पाउण्डमा जग खन्ने क्रममा सकेट बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको छ। स्थानीय धीरजबहादुर क्षेत्रीको कम्पाउण्डमा शुक्रबार साँझ पर्खाल तान्नका लागि जग खन्दै गर्दा बमजस्तो देखिने वस्तु भेटिएको हो।
जग खन्ने क्रममा जमिन मुनि फलामे तार र टेपले बेरिएको वस्तु देखिएपछि स्थानीयले तत्काल प्रहरीलाई जानकारी गराएका थिए। सूचना पाएपछि इलाका प्रहरी कार्यालय चौरजहारीबाट प्रहरी निरीक्षक अजय डाङ्गीको नेतृत्वमा टोली पुगेर क्षेत्रमा आवागमन नियन्त्रण गर्दै सुरक्षा घेराबन्दी गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले बताए।
उनका अनुसार सो वस्तु सकेट बमजस्तै देखिने भए पनि आधिकारिक पुष्टि हुन बाँकी छ। “सुरक्षा जोखिम नहोस् भनेर वरपरका बासिन्दालाई सतर्क राखिएको छ,” पुनले भने।
शङ्कास्पद बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ। राति भएको कारण सुरक्षा व्यवस्था कडा बनाइएर घटनास्थल निगरानीमा राखिएको र सम्भवतः बिहान सेनाको डिस्पोजल टोलीले सुरक्षित व्यवस्थापन गर्ने तयारी गरिएको बताइएको छ।
सो क्षेत्र विगतमा सशस्त्र द्वन्द्वबाट प्रभावित भएकाले यो वस्तु द्वन्द्वकालमै गाडिएको वा छुटेको हुन सक्ने अनुमान गरिएको छ। तर यसबारे प्राविधिक जाँचपछि मात्रै पुष्टि हुने प्रहरीले स्पष्ट पारेको छ।
सुरक्षा निकायले आसपासका बासिन्दालाई शङ्कास्पद वस्तु देखिएमा नछुन, नसराउन, तुरुन्त प्रहरीलाई खबर गर्न, भीड नलगाउन र अफवाह प्रवाह नगर्न आग्रह गरेको छ। यस घटनामा अहिलेसम्म थप अनुसन्धान जारी रहेको जनाइएको छ।



प्रतिक्रिया