• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका थप जिम्मेवारीपूर्ण बनेको छ : प्रचण्ड

    211
    SHARES

    ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक अहिले असाधारण र जटिल राजनीतिक परिस्थितिबाट गुज्रिरहेको बताउँदै यस्तो अवस्थामा पार्टीको भूमिका झनै जिम्मेवारीपूर्ण बनेको बताएका छन्।

    ललितपुर महानगरपालिका समितिको आयोजनामा महालक्ष्मीस्थानमा आयोजित नेपाल संवत् ११४६ अवसरको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले हालै जारी गरिएको १० बुँदे मार्गदर्शन देश र जनताको पक्षमा पार्टीको पुनःसक्रिय दिशानिर्देश भएको स्पष्ट पारे।

    प्रचण्डले भने, “भदौ २३ गते जेन–जेड आन्दोलनले भ्रष्टाचार, बेथिति र कुशासनविरुद्ध देशप्रतिको माया र परिवर्तनको ऊर्जा देखायो। तर भदौ २४ गतेका घटनाले त्यही आन्दोलनमा गलत प्रवृत्तिको खतरनाक रूप पनि उजागर गर्‍यो। त्यसपछि हामी सबैले राज्यविहीनताको जोखिम अन्त्य गर्न भूमिका खेलेका छौं।”

    उनले जेन–जेड आन्दोलनका मागहरू माओवादी केन्द्रका एजेन्डासँग मेल खाने भएकाले पार्टीले त्यसप्रति समर्थन जनाएको उल्लेख गरे। “परिवर्तित परिस्थितिमा रुपान्तरण गर्न सक्ने पार्टी माओवादी नै हो। हामी युवासँग निरन्तर संवाद र छलफलमा छौं,” उनले भने, “संविधान संशोधनमार्फत युवाले बुझ्नुपर्छ — क्रान्तिकारीहरूले शत्रु र मित्र चिन्न जान्नुपर्छ।”

    प्रचण्डले सुशासन, सामाजिक न्याय, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मागलाई युगको आवश्यकता बताउँदै थपे, “लेनिनले भनेका छन् — क्रान्तिकारी नेताले मात्र गल्ती स्वीकार गर्छन्, प्रतिक्रान्तिहरूले कहिल्यै गर्दैनन्। हामी फेरि रुपान्तरण हुँदै भ्रष्टाचारविरुद्धको संघर्षमा अग्रसर हुनेछौं।”

    उनले पार्टी नेतृत्वबारे सञ्चारमाध्यमले टिप्पणी गर्नु अनुचित भएको बताउँदै भने, “को नेतृत्वमा आउँछ भन्ने निर्णय पार्टीका सदस्यहरूले गर्छन्, बाह्य हस्तक्षेपको ठाउँ छैन।” कार्यक्रममा केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य तथा पूर्वमन्त्री पम्फा भुसालले जनताका अधिकार सुनिश्चित गर्ने संविधान माओवादी नेतृत्वमै लेखिएको स्मरण गर्दै जेन–जेड आन्दोलनका मागहरूलाई समाजवादी जनक्रान्तिको दिशामा अघि बढ्ने चेतावनीका रूपमा लिनुपर्ने बताइन्।

    उनले राष्ट्रपतिले संवैधानिक स्थिरता कायम गर्न खेलेको भूमिकाको प्रशंसा गर्दै फागुन २१ गते हुने निर्वाचन सफल बनाउन सबैलाई आह्वान गरिन्। त्यसैगरी, माओवादी केन्द्र ललितपुर महानगर इन्चार्ज तथा संविधानसभा सदस्य राजकाजी महर्जनले पार्टीलाई नयाँ ऊर्जा र विचारसहित रुपान्तरण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिए। उनले तल्लो तहसम्म संगठन सुदृढीकरण र जनस्तरमा माओवादीको प्रभाव विस्तार गर्न प्रतिबद्धता जनाए।

    ललितपुर महानगर समितिका अध्यक्ष रवीन्द्र महर्जनले समुदायसँग प्रत्यक्ष सम्पर्क र विश्वासको नाता विस्तार गर्दै पार्टीलाई जनजीवनमा स्थापित गराउने अभियान जारी रहेको बताए।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ