पर्वत। गृह मन्त्रालयको वार्षिक कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय पर्वतले देशभरिमा सर्वोच्च स्थान हासिल गरेको छ। गत आर्थिक वर्ष, विसं २०८१/८२ को मूल्याङ्कनमा पर्वत प्रशासनले १०० पूर्णाङ्कमध्ये ९५.७१ अंक प्राप्त गरी नेपालमै पहिलो स्थान ओगटेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले जानकारी दिए।
उनका अनुसार, आर्थिक वर्षको पहिलो त्रैमासिकमा २९.०६ अंक, दोस्रो त्रैमासिकमा १९.२५ अंक, तेस्रो त्रैमासिकमा १७.८७ अंक र चौथो त्रैमासिकमा २९.५२ अंक प्राप्त गरिएको थियो। यसले गृह मन्त्रालयसँग भएको कार्यसम्पादन सम्झौताका मापदण्डहरू पूर्ण रूपमा पूरा भएको पुष्टि गरेको छ।
गृह मन्त्रालयले प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयहरूको सेवा प्रवाह, कार्यसम्पादन क्षमता, जनउत्तरदायित्व, प्रशासनिक कार्यशैली र अन्य मापदण्डहरूको आधारमा मूल्याङ्कन गर्दै आएको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार, पर्वत कार्यालयले नागरिकसँगको सेवा प्रवाहमा पारदर्शिता कायम राख्ने, समयमै सेवा प्रदान गर्ने, दक्ष जनशक्ति परिचालन गर्ने र प्रविधिको प्रयोगमा जोड दिने नीति अपनाउँदै आएको छ।
‘हामीले नागरिकका गुनासो चाँडो सुन्ने, सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिने र प्रशासनिक काममा चुस्ती ल्याउने प्रयासहरू गरेका छौं,’ प्रजिअ घिमिरेले भने। ‘यो उपलब्धि सम्पूर्ण कर्मचारी टोली र स्थानीय सरोकारवालाहरूको सहकार्यको परिणाम हो।’
यस उपलब्धिले कार्यालयलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रेरणा र प्रतिबद्धता दिएको उनले बताए। कार्यसम्पादन मूल्याङ्कनमा दोस्रो स्थान भक्तपुर, तेस्रो नुवाकोट, चौथो मनाङ र पाँचौं धनकुटा रहेका छन्। छिमेकी जिल्ला बागलुङ २४, म्याग्दी ३२ नम्बरमा परेको छ भने सबैभन्दा कम नतिजा पाँचथर प्रशासनले पाएको छ, जसले ७३.८२ अंक हासिल गरेको थियो।
प्रतिक्रिया