
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको हस्ताक्षरसहित पूरक निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। कूल ८७ जना निवर्तमान सांसदमध्ये ६५ जनाको हस्ताक्षरसहित पूरक निवेदन दर्ता गरिएको हो।
कांग्रेसका थप सांसदहरूको हस्ताक्षर वारेस पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खातीमार्फत सर्वोच्च अदालतमा दर्ता गरिएको सर्वोच्च अदालतका सह–रजिस्ट्रार तथा प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
उनका अनुसार पूरक निवेदन दर्ता भइसकेको र भोलि सो निवेदन पेसी चढ्नेछ। ‘थप हस्ताक्षरसहित निवेदन आएको छ, भोलि पूरक निवेदनसहित पेसी तोकिन्छ,’ उनले भने।
यसअघि कांग्रेसको विघटित प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित आठ जनाले मंसिर २३ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उक्त रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरिसकेको छ।
उक्त निवेदनमा स्वतन्त्र निवर्तमान सांसद योगेन्द्र मण्डलसहित जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीका एक–एक जना सांसदले पनि प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्।
यसैगरी नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनीता बरालले पनि प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका छन्। एमालेका अन्य निवर्तमान सांसदहरूले समेत हस्ताक्षर बुझाएका छन्।
विभिन्न दलका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै बुझाएको हस्ताक्षरको संख्या हालसम्म १४३ पुगेको छ।



प्रतिक्रिया