
काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समयसीमा पुस ९ गते मध्याह्न १२ बजेसम्म कायम गर्ने निर्णय गरेको छ।
महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले पुस ९ गते मध्याह्न १२ बजे क्रियाशील सदस्यता वितरणको प्रणाली (सिस्टम) ‘लक’ गर्ने निर्णय गरेको हो। नयाँ क्रियाशील सदस्यता वितरणका सन्दर्भमा भने पुस १० गते प्रणाली लक गरिनेछ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य तथा केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ ले नवीकरण सम्बन्धी प्रणाली पुस ९ गते मध्याह्न १२ बजे लक गरी सोही दिन अपराह्न ४ बजे बैठक बसेर छलफल तथा प्रमाणीकरणपछि पार्टीलाई बुझाइने जानकारी दिए। नयाँ क्रियाशील सदस्यताका हकमा भने पुस १० गते प्रणाली लक गरी आवश्यक प्रक्रिया पूरा गरेर पार्टीलाई बुझाइनेछ।
विदेशस्थित जनसम्पर्क समितिमा जनसम्पर्क सदस्यता नवीकरण वा नयाँ क्रियाशील सदस्यता नपाएका व्यक्तिले केन्द्रीय कार्यालयमा सम्पर्क गरी पार्टीको वेबसाइटमार्फत सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए।
यसपटक कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण प्रक्रियालाई केही खुकुलो बनाएको छ। मातहत समितिबाट सदस्यता नपाएको अवस्थामा केन्द्रीय कार्यालयबाटै पनि क्रियाशील सदस्यता वितरण गर्न सकिने व्यवस्था गरिएको छ।
नेपाली कांग्रेसको १५ औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने कार्यतालिका रहेको छ। त्यसअघि विभिन्न तहका अधिवेशनहरू सम्पन्न गरिनेछ, जसअनुसार वडा अधिवेशन पुस १६ गते देशभर एकैसाथ हुने तय भएको छ।
क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण तथा यससम्बन्धी उजुरीमाथिको छानबिन समयमै नसकिएको भन्दै मातहत तहका अधिवेशन कार्यतालिका परिमार्जनबारे छलफल भए पनि कांग्रेस कुनै निष्कर्षमा पुगेको छैन।
महामन्त्री गगन थापाले तोकिएको मितिमा महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरिने बताउँदै आएका छन्। यसअघि असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए, जसअनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन गरिनुपर्ने प्रावधान छ।
तर सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको पक्षमा छैनन्। उनीहरूले नियमित महाधिवेशन कार्यतालिकामै जोड दिएपछि मंसिर १५ गते बसेको केन्द्रीय समितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो।



प्रतिक्रिया