आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रधानमन्त्री देउवा बनारसमा, आदित्यनाथले गरे स्वागत

प्रकाशित
541
SHARES

काठमाडौँ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशस्थित धार्मिक शहर बनारस पुगेका छन्। आइतबार बिहान प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट बनारस पुगेका हुन्। बनारसमा देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका छन्।

प्रधानमन्त्री देउवा एयर इन्डियाको जहाजबाट बनारस गएका हुन्। बनारसमा प्रधानमन्त्री देउवाले केही मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा आजै केहीबेरपछि नयाँदिल्ली फर्केर अपरान्ह स्वदेश फर्कनेछन्।

यसैबीच भारतले साढे दुई वर्षअघि लिपुलेकसम्मको नेपाली भूमि आफ्नोपट्टि पारेर नयाँ नक्सा जारी गरेपछि अघि बढ्न नसकेको सीमा मामिलाले पहिलोपटक उच्च राजनीतिक तहमा प्रवेश पाएको छ । शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाले समकक्षी नरेन्द्र मोदीसँग यो विषय उठाएका हुन् । यस विषयमा भारतीय विदेश मन्त्रालयले समेत सकारात्मक प्रतिक्रिया दिएको छ ।

‘हामी (देउवा र मोदी) ले सीमा समस्याबारे छलफल गर्‍यौं । मैले मोदीजीलाई यो विषय स्थापित द्विपक्षीय संयन्त्रमार्फत समाधान गरौं भनेको छु,’ दुई देशका प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलबीचको संवादपछि संयुक्त पत्रकार सम्मेलनमा देउवाले भने ।

हैदराबाद हाउसमा भएको पत्रकार सम्मेलनमा मोदीले भने सीमाका विषयमा केही बोलेनन् । लगत्तै भारतका विदेश सचिव हर्षवर्धन शृंगलाले पत्रकार सम्मेलन गर्दै सीमाका सम्बन्धमा प्रधानमन्त्री देउवाले आफ्नो भनाइ राखेको उल्लेख गरे ।

‘यस मामिला (सीमा विवाद) मा संक्षित रूपमा छलफल भएको थियो, दुवै पक्षले यसलाई वार्ताका माध्यममार्फत जिम्मेवारीपूर्ण रूपमा सम्बोधन गर्नुपर्छ भनेर आम समझदारी भयो,’ उनले भने, ‘हाम्रो नजिक र मैत्री सम्बन्धको भावनाका कारणमा सीमा विवाद समाधान गर्नुपर्छ । यस्तो विषयलाई राजनीतीकरण गर्नु हुन्न ।’

दुई प्रधानमन्त्रीबीच सौहार्दपूर्ण संवाद भएको उल्लेख गर्दै विदेश सचिव शृंगलाले दुई मुलुकले समस्या समाधानका लागि मित्रवत् बाटो खोज्नेमा शंका नरहेको प्रस्ट पारे । ‘दुई छिमेकी मित्रराष्ट्रहरू बीचको महत्त्वपूर्ण पक्ष भनेको आपसमा छलफल गरेर समस्या समाधान गर्न सक्नु हो । हामीले त्यसरी नै बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं,’ उनले भने, ‘नेपालसँग पनि हाम्रा केही संयन्त्र छन् । यस विषयलाई अघि बढाउन जिम्मेवार छलफल र वार्ताका लागि हामी गम्भीर छौं ।’

भारतले २०७६ कात्तिकमा आफ्नो नयाँ राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि नेपालले विरोध गर्दै कूटनीतिक नोट पठाएको थियो । तर कोभिड–१९ को कारण देखाउँदै भारतले वार्ता टार्दै आएको थियो । त्यसको ६ महिनापछि कालापानी–लिपुलेक क्षेत्रमा सडकको ट्र्याक खोलेर भारतले उद्घाटन गरेलगत्तै विरोध गर्दै नेपालले कूटनीतिक नोट पठाएको थियो ।

त्यसमा पनि भारत वार्तामा आउन तयार भएन । त्यसपछि नेपालले २०७७ जेठ ७ मा लिम्पियाधुरासम्मको भूभाग समेटेर ‘चुच्चे’ नक्सा जारी गर्‍यो । त्यसले भारत चिढियो । दुई मुलुकबीच सीमा विवादलाई लिएर संवाद गर्ने वातावरण पनि बनेन ।

त्यसयता नेपाल र भारतबीच परराष्ट्रमन्त्रीस्तरीय संवाद नयाँदिल्लीमा र परराष्ट्र सचिवस्तरीय संवाद काठमाडौंमा भए पनि सीमा मामिलालाई महत्त्वका साथ उठाइएन । नेपाली पक्षले बेलाबेला सीमाका विषय उठाए पनि भारतबाट कुनै धारणा आएन । यस पटक प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा बल्ल सीमा समस्या समाधानको विषय उठेको हो ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ