आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसी सेनाको ६४ किलोमिटर लामो लश्कर कहाँ गयो ? मात्रै ३० जना युक्रेनी सैनिकले ध्वस्त पारे

प्रकाशित
260
SHARES

काठमाडौं। रुसले युक्रेनमा आक्रमण सुरु गरेको केही दिनपछि रुसी सेनाका ट्यांकहरु र बख्तरबन्द गाडीहरुको करिब ६४ किलोमिटर लामो लश्कर किभतर्फ बढ्दै गरेको स्याटेलाइट तस्वीरमा देखिएको थियो।

रुसले यो लश्करले युक्रेनको राजधानी किभलाई घेरा हाल्ने योजना बनाएको अनुमान गरिएको थियो। तर, अहिलेसम्म यो लश्कर किभ पुगेको छैन। आखिर यो लश्कर कहाँ हरायो ?

युक्रेनी सेनाको एक विशेष युनिटले किभतर्फ बढिरहेको रुसी सेनाको ६४ किलोमिटर लामो लश्करलाई ध्वस्त पारिदिएको बताएको छ।

द गार्डियनमा प्रकाशित एक रिपोर्टका अनुसार युक्रेनी सेनाको यो विशेष युनिटका केवल ३० जना सैनिकहरुले ड्रोनको सहयोगमा रुसी सेनाको यो लामो लश्कर ध्वस्त पारिदिएका हुन्।

उनीहरुले यो लश्करमाथि एकपछि अर्को गर्दै कैयौं आक्रमण गरेका थिए। आक्रमणको एक हप्तापछि रुसले बख्तरबन्द वाहन र ट्यांकको ६४ किलोमिटर लामो लश्करबाट राजधानी किभको घेराबन्दी गर्ने तयारी गरेको थियो।

तर, यो लश्कर अगाडि बढ्न सकेन। यस्तो किन भयो ? यसको खुलासा युक्रेनको एयरफोर्ससँग जोडिएको युनिट एयरो रोज्भिड्काका कमाण्डर लेफ्टिनेन्ट कर्नेल यारोस्लाभ हंकरले अहिले गरेका छन्।

हंकरका अनुसार यसको पछाडि ३० जना आइटी विशेषज्ञ र बाइकर फोर्सको ठूलो भूमिका रह्यो जसले यो लश्करलाई तितर बितर मात्रै पारेनन्, खाद्यान्न र हतियारको अभावमा पंगुजस्तै बनाइदिए।

हंकरका अनुसार रुसी सेना इभान्किभ सहरनजिकै बसेको थियो। ड्रोनले सुसज्जित क्वाड बाइक सवार युक्रेनी सैनिकले यी रुसी सैनिकमाथि जंगलको बाटोबाट गोरिल्ला युद्धजस्तै गरी रातमा आक्रमण गरे।

यी युक्रेनी सैनिकहरुसँग नाइटभिजन चश्मा, स्नाइपर राइफल, थर्मल इमेजिङ क्यामेरा जडित ड्रोन सकेत थिए। यो सानो युनिटले पहिलो रात लश्करका ३ वाहन ध्वस्त पार्यो।

युनिटले ३–४ दिनसम्ममा ठूलो संख्यामा वाहन क्षतिग्रस्त पारिदिए। यो सबै केवल ३० जना सैनिकले गरेका थिए। यो युनिटका प्रथम प्रमुख भोलोदिमिर कोचेट्कोभ सुकच थिए जो इन्भेस्टमेन्ट बैंकर थिए।

उनी २०१५ मा डोनाबासमा मारिएका थिए। अहिलेका प्रमुख हंकर पहिले सैनिक थिए। पछि उनी आइटी मार्केटिङ कन्सल्टेन्ट बने। रुसको पहिलो आक्रमणपछि उनी सेनामा फर्किएका हुन्।

तेस्तै, युरोपेली देशले आफ्नो देशमाथि लगाएको आर्थिक प्रतिबन्धको बदलामा रुसी राष्ट्रपति पुटिनले युरोपेली देशलाई अप्ठ्यारोमा पार्ने गरी नयाँ घोषणा गरिदिएका छन्।

उनले रुसले अब गैर मित्र देशलाई रुसको मुद्रा रुबलमा पैसा तिरेमा मात्र ग्यास बेच्ने घोषणा गरेका छन् । रुसलाई ग्यास किनेवापत रुबलमै पैसा तिर्नुपर्ने देशहरुको सूचीमा युरोपेली संघका सबै देश छन्।

पुटिनले रुस विरुद्ध अभिएकाहरुलाई अब डलर र युरोमा पैसा तिरेर ग्यास नदिने बताएका छन्। युक्रेनमा आक्रमणका कारण कैयौं देशहरु ले रुसी सम्पत्ति सिल गरिदिएका छन्।

यसको जवाफमा पुटिनको यो कदम आएको हो। उनले यी देशहरुले आफ्नो विश्वास तोडेको भन्दै यस्तो निर्णय गर्नुपरेको बताएका छन्। युरोपमा कूल खपत हुने ग्यासको ४० प्रतिशत रुस एक्लैले आपूर्ति गर्छ।

रुसको यो घोषणाले युरोपको बजारमा हाहाकार हुन सक्छ। बुधबार मात्रै युरोपेली र बेलायती ग्यास बजारमा ग्यासको मूल्यमा १५ देखि २० प्रतिशत वृद्धि भएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ