आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

सांसद साहमाथि आक्रमण, अवस्था गम्भीर भएपछि काठमाडौँ ल्याइदै

प्रकाशित
540
SHARES

काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ। शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो।

टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ। फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो।

सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो। सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए।

दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।झडपमा ढुंगा प्रहार सांसद साहको टाउकोमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ।

चोट लागेर गम्भीर घाइते भएका साहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लाने तयारी भइरहेको इलाका प्रहरी कार्यालय केशरगंजले जनाएको छ।

सांसद साहका आफन्त अनिल साहले भने सांसद साहको अगुवाइमा जसपाले नगरमा विरोध निकालिरहेको बेलामा २५–३० जना‍बाट आक्रमण भएको बताएका छन्। उहाँ अहिले बोल्न सक्ने अवस्थामा हुनुहुन्छ, तर अवस्था गम्भीर छ।

काठमाडौं रिफर गरेकाले उहाँ बाटोमा हुनुहुन्छ, उनले भने। जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।

आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन्।

जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।

पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।

घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ। साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ