आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

मोरङमा गोली चल्यो, १ प्रहरी जवानको मृत्यु, ३२ जना घाइते

प्रकाशित
822
SHARES

मोरङ। एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानबिन गरिने प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीले घटनाको छानबिन हुने बताएका हुन् ।

यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ,हामी केही न केही छानबिन गर्छौं, बिसीले भने। बिसीले आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न गएको प्रहरीमाथि आक्रमण भएको बताए ।

आइतबार दिउँसो भएको उक्त घटनामा परी २५ जना प्रहरी घाइते भएका छन् भने ७ जनासम्म सर्वसाधारण घाइते भएका छन्। घाइतेमध्ये १४ जना प्रहरीहरुको सामान्य उपचार गरिएको छ र बाँकी १ जना प्रहरीको विराटनगरस्थित न्यूरो अस्पतालमा र अरुको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको बिसीले जानकारी दिए ।

यस्तै, घाइते भएका स्थानीय ७ जनामध्ये १ जनाको कोशी र १ जनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । अन्य सामान्य उपचारपछि घर फर्केको प्रहरीले जनाएको छ ।

सो घटनामा परी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको छ । सर्वसाधरणको आक्रमणमा परी उनको मृत्यु भएको हो । मृतक श्रेष्ठ ३ वर्ष अगाडि प्रहरी सेवामा भर्ना भएकी थिइन् । उनको घर खोटाङ रहेको प्रहरीले बताए पनि विस्तृत विवरण दिएको छैन ।

लेटाङमा कर्फ्यु आदेश: यसैबीच, थप दुर्घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ गाउँपालिकामा कर्फ्यु आदेश जारी गरेको छ । प्रशासन कार्यालय मोरङले चिसाङ खोला पूर्व, मोरङ्गी खोला पश्चिम।

लेटाङको वडा नम्बर ६ को कार्यालय दक्षिण र कमलपुरबाट उत्तर निषेधाज्ञा जारी गरेको हो । बिहान ७ बजेदेखि निषेधाज्ञा कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको सूचनामा उल्लेख छ ।

लेटाङ–५ खेरुवाको शिक्षा विकास माविकी छात्रालाई सोही विद्यालयका शिक्षक मनोज पौडेलले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र अभिभावकले दिनभर विद्यालय परिसरमा नाराबाजी र आगजनी गरेका थिए ।

सोही क्रममा विद्यार्थी र अभिभावकको आक्रमणमा परी प्रहरी जवान श्रेष्ठको मृत्यु भएको हो । आइतबार बिहान ११ बजेदेखि अबेर रातिसम्म लेटाङ अशान्त बनेको थियो ।

यसरी घट्यो घटना: होलीका दिन गत शुक्रबार रङ खेल्दै घरमा आएका शिक्षक मनोज पौडेलले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएकी थिइन् ।

सामाजिक शिक्षा पढाउने ५६ वर्षीय पौडलको विषयमा छलफल गर्न आइतबार विद्यालयमा शिक्षक र अभिभावकको बैठक बसेको थियो। बैठकले पौडेललाई प्रहरीको जिम्मा लगाउने निर्णय गरेको थियो।

आरोपित शिक्षकलाई बाहिर निकाल्दा आक्रमण हुन सक्ने आकलन गर्दै शिक्षकहरूले प्रहरीलाई नै विद्यालय परिसरमा बोलाएका थिए। स्थानीय प्रशान्त निरौलाका अनुसार विद्यालयमा छलफल चलिरहँदा आक्रोशित भीड पस्यो र शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गर्‍यो।

स्थिति नियन्त्रणमा लिन आएको प्रहरीसँग झडप भएको हो ।यौन दुर्व्यवहार आरोपित पौडेललाई नियन्त्रणमा लिएर लैजान खोज्दा भीडले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।

उनका अनुसार आक्रोशित भीडले छुरा प्रहार गरेको थियो। भीडले सवारीसाधनमा आगजनी र तोडफोड गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास र हवाई फायर गरेको थियो । लेटाङ–८ का मिलन खड्का र आयुष लिम्बूलाई प्रहरीको गोली लागेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ