आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

माओवादी नवधनाढ्यहरूलाई हल्लाउने १६ मिनेट

प्रकाशित
371
SHARES

काठमाडौ। गायक प्रकाश सपूतको नयाँ गीतिकथा ‘पिर’ यतिबेला चर्चामा छ। तीन दिनमै यसलाई ६२ लाखभन्दा बढी हेरिएको छ। १६ मिनेट लामो गीतिकथाका शब्दहरू त शक्तिशाली छँदैछन् नै, यसमा समेटिएको कथा र दृश्यले संवेदना भएको हरेक मानिसलाई एकपटक राम्रैसँग हल्लाउँछ।परिमाणतः यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा मत व्यक्त भइरहेको छ।

गीतिकथाका शब्दमा कहींकतै आपत्ति प्रकट गर्नुपर्ने र अहमति राख्नुपर्ने कुरा छैन। जहाँसम्म भिडियोको कुरा छ, त्यहाँ पक्ष र विपक्षमा मत राख्न सक्ने ठाउँहरू छन्। सुरुवातमा माओवादी आन्दोलनका उपलब्धिलाई स्वीकार्दै स्थापित गर्न खोजिएको छ। सिंगो गीतिकथा नै ‘व्यवस्था परिवर्तनका लागि ज्यानकै बाजी थापेर लड्नेहरूमा समर्पित’ गरिएको छ।

गीतमा पूर्वलडाकुका दुःख र पीडा देखाइएको छ। उनीहरू दुःखमा पनि मार्क्सलाई पढ्न भुल्दैनन्। जीवनसाथी र सन्तान छाडेर विदेशिनुपर्दा पनि झोलामा प्रगतिशील पुस्तक बोक्न बिर्संदैनन्। यो गीतिकथामा देखाइएको मात्रै दृश्य होइन, जीवनव्यवहारमै भइरहेको अभ्यास हो। उनीहरू धोका र अपमान हुँदा पनि पुस्तक पढ्न छाड्दैन। उनीहरूमा आन्दोलनप्रतिको आस्था विश्वास मरेको देखिंदैन।

ठूला राजनीतिक परिवर्तनको सपना देखाउने जनयुद्धबाट केही महत्वपूर्ण राजनीतिक उपलब्धि भएको कुरालाई गीतिकथामा स्वीकारिएको छ। तर, व्यवस्था बदलिए पनि आम मानिसको अवस्था बदल्ने कार्यभारबाट माओवादी बरालियो। सीमित मानिसहरूको वर्गउत्थान भयो। हिजो युद्धमा दुःख गर्ने आधारभूत तहका मानिसहरूको जीवन अस्तव्यस्त बनाइदियो। यसक्रममा माओवादी नेतृत्वको वर्गउत्थान र नैतिक स्खलनको आसपास सपूतले कथावस्तु बुनेका छन्।

र, यो १६ मिनेट लामो गीतिकथाले त्यही वर्गउत्थान भएका नबधनाढ्यहरू र तिनीहरूबाट केही पाउने आशामा बाँचेको एउटा पंक्तिलाई बेस्करी हल्लाइदिएको छ। पार्टी नेतृत्वले गर्ने हरेक गल्तीमा रफु भरेर जीवन चलाउने यस्ता आशे अर्थात् आशा गरेर बाँच्ने पंक्ति माथिदेखि तलसम्म बनेको छ। आलोचनात्मक चेत गुमाएको त्यही तर लागेको पंक्तिलाई ‘पिर’ले अत्यधिक पिर पारेको देखिन्छ।

पिर अन्यायको प्रमाण: पिर पक्कै पनि आशावदिताले भरिएको गीत होइन। यो कुरा निर्देशक सपूत स्वयंले स्वीकारिसकेका छन्। यसले अभाव र अन्यायका विरूद्ध विद्रोहको अपील गर्दैन। यसले सुन्दर भविष्यको परिकल्पना पनि गर्दैन। बरू यसले हामीलाई निराशावादको खाडलतिर तान्छ। निराशाको कालो कस्तो हुन्छ त्यो देखाउँदैन मात्र, अनुभव पनि गराउँछ। दर्शकहरूको मनभित्र निराशा छिराएर उनीहरूलाई समाजमा भएको असमानता र अन्यायको प्रत्यक्ष अनुभूत गराउनुमा पिर’ जस्ता सिर्जनाको शक्ति अन्तरनिहित रहेको हुन्छ।

अमेरिकी लेखक तथा पत्रकार एलिजाबेथ गिल्बर्टको बुझाइमा धुम्रपानले फोक्सो बिगारेजस्तै कुण्ठाले पनि मन/मस्तिष्कलाई असर पुर्याउँछ, एक सर्को पनि हानिकारक हुनसक्छ। नेल्सन मण्डेलाको भनाइमा कुण्ठा भनेको आफूले विष पिएर आफ्ना दुश्मनहरू मर्छन् भन्नुजस्तै हो। तर, कुण्ठा कसैले चाहेर जन्मिंदैन र सबै मण्डेला र बुद्ध बन्न सक्दैनन्। हामीले गर्ने आम मानिसको कुरा हो। कुण्ठा मनमा गढेर बसुञ्जेल मानिसको क्रोध नहराउने कुरा गौतम बुद्धले पनि उल्लेख गरेका छन्।

यहाँनिर हिटलरको आउसवीचमा बन्दी बनाइएका अष्ट्रियाका दार्शनिक जिन अमेरीको भनाइ स्मरणीय छ। आउसवीचमा बन्दी बनाउँदा पाएको अपमान र दमनका कारण उनी जीवनभर डिप्रेसनको सिकार थिए। उनी आफूलाई सगर्व ‘कुण्ठा बोकेको पात्र वा फिगर अफ रिसेन्टमन्ट’को रूपमा प्रस्तुत गर्थे। उनले डिप्रेसनको औषधि लिन सधैं अस्वीकार गरे। दर्शनका दर्जनौं प्रसिद्ध कृतिका रचनाकार अमेरीले अन्त्यमा आत्महत्या गरे। तर, उनले ‘एट दि माइन्डस् लिमिट’ लगायतका पुस्तकमा एउटै कुरा दोहोर्याइरहे। त्यो के भने ‘मेरो डिप्रेसन र कुण्ठा म माथि भएको अन्यायको प्रमाण हो। म यो प्रमाण मेट्न चाहन्नँ। म यसको उपचार चाहन्नँ ।

माओवादी एलिटले झूटा सपना देखाएर योद्धाहरूलाई खुला जेलजस्तो शिविरभित्र थुने । त्यहाँ शरीर मात्रै नभएर योद्धाहरूको सपना पनि बन्धक बनाए। त्यहाँ उनीहरूले योद्धाहरूलाई सरकारले दिएको रासनपानी र रकम पनि खोसे । औंलामा गन्न सकिने नेतालाई मोटो बनाएर रित्तोहात घर फर्किन पर्दा योद्धाहरूको मनमा असन्तोषको कस्तो हुरी चल्यो होला ? ’पिर’ यही अत्याचारको प्रमाण हो ।

नेतृत्व निरन्तर गलत दिशामा रूपान्तरण भए तर योद्धाहरूलाई क्रान्ति र विद्रोहको झूटो सपना देखाइरहे । जनताले दिएको संविधान निर्माणको मतादेश कुल्चिएर ७ दिने असफल जनविद्रोहमा परिचालित योद्धाहरू काठमाडौंबाट घर फर्कंदा योद्धाहरूको मस्तिष्कमा के चलिरहेको थियो होला ? यो पृष्ठभूमिमा ‘पिर’मा प्रस्तुत गरिएको पिर, कुण्ठा, पीडा र चीत्कार माओवादी आन्दोलनभित्रका नवधनाढ्य वर्गले जनयुद्धका योद्धाहरूमाथि गरेको अन्यायको प्रमाण हो।

माओवादी एलिटले आफू सत्तामा पुगेपछि ती योद्धाहरूलाई रुवाउँदै घर खेदेको र त्यसपछि खाडी मुलुकमा भासिन बाध्य बनाएको यथार्थको प्रमाण हो। हिजोका हरेक पूर्व माओवादी लडाकुको अनुहारमा रहेको निराशा उनीहरूमाथि माओवादी एलिटले क्रान्तिका नाममा गरेको शोषण, दोहन र धोकाको प्रमाण हो।

योद्धाहरुको मलिन अनुहारले समेत माओवादीको नवधनाढ्य वर्गका मनमा आतङ्क सिर्जना गर्छ। किनकि योद्धाका ती मलिन अनुहार माओवादी एलिटका सदस्यहरूका खाइलाग्दा अनुहारका रहस्य हुन् भन्ने कुराको प्रमाण हो। माओवादीका नव धनाढ्यहरू त्यो प्रमाणलाई मेट्न चाहन्छन्। त्यसैले उनीहरू आज एउटा गीतको विरुद्ध वक्तव्यबाजी गरिरहेका छन्।

त्यसो त, नेपालमा पार्टी सदस्यता र राजनीतिक आस्था विवेक बन्धक बनाइदिने वस्तु जस्तो बनेको छ। अप्रत्यक्ष भेटघाटमा धेरै नेता कार्यकर्ताहरू मनको वह पोख्छन्। तर सार्वजनिकरूपमा विरोध गरिरहनुपर्ने बाध्यता छ । मनमा पिर छ तर पिर पोख्न पनि ठाउँ पनि छैन, पिर पोख्न पाउनु पनि छैन । यो पृष्ठभूमिमा पिर’ले माओवादी आन्दोलनसँग जोडिएका सबैलाई पिर थपेको छैन । बरु, उनीहरूलाई वर्षौंदेखि बोक्दै आएको पिरको गह्रुङ्गो भारी बिसाएझैं हल्का भएको छ ।

यही पिरमाथि पिरको अवस्थामा रहेका पात्रहरूको कथा उल्लेख गरेको प्रकाश सपूत स्वयंले भनिसकेका छन्। पिरबाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो’ सपूतले भनेका छन्, ‘समानताको लागि एकसाथ लडेका कमरेडहरु बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो। एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हो।

पिरका ‘ट्रयाजिक आइरनी’: प्रकाश सपूतको ‘पिर’मा धेरै ‘ट्रयाजिक आइरनी’ वा दुःखद् विडम्बनाहरू चित्रण गरिएका छन्। माओवादी युद्धमा सहभागी योद्धाका जीवनका दुःखद् विडम्बनाहरूको प्रतिबिम्बन गीतको पोस्टरबाटै सुरू हुन्छ। माओवादी युद्धपछिको ‘पोस्ट-हिरोइक’ युगको प्रतिनिधिमूलक भाव ‘पिर’ शीर्षकको गीतको पृष्ठभूमिमा भने युद्धकालीन ‘हिरोइक युग’को झझल्को दिने कम्ब्याट ड्रेसमा बन्दूक बोकेका र निधारमा रातो फेटा बेरेका पात्रहरूको तस्विर छ। गीतको पोस्टरले माओवादी युद्धकै केन्द्रीय विरोधाभासलाई बोलेको छ।

माओवादी युद्धको केन्द्रीय विरोधाभासलाई ‘फोकल्डियन प्याराडक्स’ भन्न पनि सकिन्छ । समानताको नारा दिएर बनाएको माओवादी सङ्गठनभित्र सभ्य समाजमा हट्दै गएको कैयौं असमानता पुनःउत्पादन मात्रै भइरहेका छैनन्, थप चर्काइएको छ । माओवादी आन्दोलनसँग जोडिएका सम्भ्रान्तगणले त्यो असमानताको सिर्जना पुँजीवादी बजारमा जस्तो श्रम र पसिनाको शोषणबाट मात्रै होइन, दासयुग र सामन्ती युगमा जस्तो युवाहरूको भाग्य र भविष्यको दोहन मार्फत गरिरहेका छन्।

आलोचनात्मक चेतको जगमा सुरू भएको माओवादी आन्दोलनको मूलधारमा आज नेपाली समाजको औसतभन्दा पनि तल्लोस्तरको आलोचनात्मक चेत छ। यसलाई आरोप वा पूर्वाग्रह भन्न सकिएला तर, एउटा कलाकारको गीतविरुद्ध उनीहरूले गरेका बहुलठ्ठीपूर्ण टिप्पणी र गीतलाई युट्युबबाट हटाउन दिएको धम्कीबाट यो आरोप’ प्रस्ट हुन्छ।

गीतको प्रतिक्रिया होइन, समग्र गीतमा देखाइएको सबभन्दा मुख्य वियोगपूर्ण बिडम्बना ट्रयाजिक आइरनी के हो भने देश र जनताको पीडा कम गर्छु भनेर स्कुल कलेज छाडेर माओवादी पार्टीमा सामेल भएका युवाहरूलाई सत्ताको भर्याङ बनाइयो। सत्तामा पुगिसकेपछि माओवादी नेतृत्वले उनीहरूलाई ‘आममान्छे’ भन्दा पनि पीडित पात्रमा परिणत गरिदियो। हिजो वीरता ती युवाको पहिचान थियो भने आज ‘पिर’ उनीहरूको पहिचान भएको छ।

गीतको पोस्टरको ताराको चिन्हलाई भित्र पारेको ‘पिर’ शीर्षक झट्ट हेर्दा ‘विर’ जस्तो देखिन्छ। नेपाली युवाहरुलाई ‘वीरता’ वा एजेन्सीको भ्रम दिएर सारतः पीडित’ पात्रमा परिणत गर्नु प्रकाश सपूतको गीत र माओवादी एलिटका रणनीति र कार्यनीतिहरूको केन्द्रीय ‘ट्रयाजिक आइरनी’ बनेको छ।

यो केन्द्रीय ट्रयाजिक आइरनी वरिपरि अरू पनि ट्र्याजिक आइरनी पनि बुनिएका छन्। त्यस्ता आइरनी मासु पसलको नामबाट सुरू हुन्छ। गीतको केन्द्रीय पात्रले आफ्नो मासुपसलको नाम ‘परिवर्तन मासु पसल’ राखेको छ। जसको जीवनमा आफैंले लडेको राजनीतिक परिवर्तनले कुनै परिवर्तन ल्याएन, पिरमाथि पिर थपिदियो, त्यही परिवर्तनलाई सम्झाउने गरी उनले आफ्नो मासु पसलको नाम राखेका छन् । त्यसबाट केन्द्रीय पात्र कसरी परिवर्तनको नेतृत्वले आफूलाई नयाँ युगको ‘डिस्पोजेबल’ वा उपयोग गरिसकेर काम नलाग्ने भए पछि मिल्काइने त्याज्य वस्तुमा परिणत गरिसक्दा पनि त्यो परिवर्तनप्रति गर्व गर्छ भन्ने नै देखाउँछ।

पार्टीकै नेताले अर्थमन्त्रालय नेतृत्व गरिरहेका छन्। देशमा आर्थिक मन्दीजस्तो छ। व्यापार पटक्कै छैन। व्यापारले पनि उनलाई युद्धले जस्तै निराशा दिन्छ। दिनभरि कामबाट घर फर्कंदा युद्धका बीच बिहे गरेकी जीवनसँगिनीले सोध्छिन्, परिवर्तनबाट के पाइयो ? उनी सहजै जवाफ दिन्छन्, गणतन्त्र।

यहाँ फेरि गीतको र माओवादी जनयुद्धको पनि केन्द्रीय आइरनी जोडिन आइपुग्छ। त्यो के भने रूपमा यति ठूलो परिवर्तन हुँदा पनि सारमा परिवर्तनका लागि लड्ने भुइँतहका मान्छेको जीवन झनै कष्टकर बन्छ। आम मान्छेको अवस्था झनै जर्जर बन्छ।

यति धेरै धोका र विश्वासघात हुँदा र घाइते शरीर घिसार्दै बेसहारा भएर सङ्घर्ष गरिरहँदा पनि ती पात्रको पार्टीप्रतिको विश्वास भने मरेको छैन। माओवादी नेतृत्वले आफूलाई गणतन्त्रका परित्यक्त वा ‘डिस्पोजेबल’मा परिणत गर्दा पनि ती पात्र दल परिवर्तन गर्दैनन्। बरू कम्यनिस्ट साहित्य झोलामा हालेर रोजीरोटीको खोजीमा भौँतारिन्छन्।

मूल पात्रकि जीवन सँगिनी खाडी उड्नुअघि विमानस्थलमा नाबालिका छोरीले देखाएको कारुणिक दृश्य गीतको कल्पना मात्रै होइन, हामी बाँचेको समयको बिडम्बनापूर्ण यथार्थ हो। उनी विदेशमा बन्धक बनाइन्छिन्। उनी देश फर्कन चाहन्छिन् तर उनलाई सहयोग गर्ने कोही हुँदैन । जुन नेतालाई जोगाउन छातीमा गोली थापिएको थियो, त्यही नेताले पनि बेवास्ता गरिदिन्छन्।

यहाँसम्म आइपुग्दा प्रकाश सपूतले दर्शकलाई यसरी भत्काइदिन्छन् कि उसलाई फेरि आफूलाई सम्हाल्न गाह्रो हुन्छ। देश फर्कने चाहना र चीत्कारसहितको महिला पात्रको फेसबुक भिडियोले माओवादी युद्धमा सहभागीलाई मात्र होइन, आम नेपालीको कमलो मुटु र कमलो छातीमा भक्कानो छुटाइदिन्छ। शेक्सपियरका ट्रायजेडी र ग्रिक साहित्यका ट्रयाजेडीमा भन्दा कम दर्दनाक छैन प्रकाश सपूतले ‘पिर’मा प्रस्तुत गरेका ट्रयाजिक आइरनीका दृश्य। यद्यपि, यो काल्पनिक होइन, आम नेपालीको जीवनशैली हो।

धोकाको अप्रत्याशित भूमि र ‘देहव्यापार’: मानिसहरू बीचको सम्बन्धमा धोका अप्रत्यासित रूपमा आइपुग्छ। धोकापछि मान्छेहरूका सम्बन्ध उही रूपमा रहँदैनन् । धोकाले मान्छेलाई सम्बन्धको एउटा त्यस्तो अप्रत्याशित भूमिमा लैजान्छ जहाँ उनीहरू अरू र आफैंलाई चिन्न नसक्ने बन्न पुग्छन्। धोका दिने मात्र होइन, धोका पाउने पनि उक्त धोकाको मतियार हुन्छ। धोका पाउने पनि धोका दिनेको किन मतियार हुन्छ भने धोका आपसी विश्वासमा खडा भएको हुन्छ।

धोकातर्फ लैजाने आपसी विश्वासमा जान-अनजानमा बाँधिनु धोका पाउनेको गल्ती हुन्छ, धोकापछि उक्त आपसी विश्वासलाई फर्किएर हेर्दा। जब विश्वासका सम्बन्धहरू धोकामा परिणत हुन्छन्, तब धोका पाउने पीडित क्षणभरमा नै धोका दिने पीडक बन्न सक्छ। कार्ल मार्क्सले पुँजीवादको सन्दर्भमा उल्लेख गरेको यो उक्ति धोकाको हकमा पनि उत्तिकै लागू हुन्छ- मानवीय सम्बन्धहरूमा धोकाले प्रवेश गरेको घडीदेखि त्यतिबेलासम्म जे जति ठोस थिए ती वायुमा परिणत हुन्छन्, र जे जति चिज पवित्र थिए ती सबै अपवित्र बन्दछन्। धोकाले सबै पुराना बाचा, कसम र प्रतिबद्धताहरु आफ्नो बलिबेदीमा चढाइयून् भन्ने चाहन्छ। प्रकाश सपुतको ‘पिर’मा पनि केही हदसम्म त्यस्तै भएको छ।

प्रकाश सपूतको पिरका पात्रहरूलाई उनीहरूले बाबुआमा समान मानेका माओवादी नेताहरूले धोका दिन्छन्। शिविरमा राखेर लुट्छन् र बाहिर निकालेर समाजमा स्थापित गराउन कुनै भूमिका खेल्दैनन्। शिक्षा र सीप नभएका योद्धालाई अलपत्र छाडिदिन्छन्। आफू युद्धमा लाग्दा वैदेशिक रोजगारमा लागेका साथीहरूले घरघडेरी जोडेका छन्, सन्तानलाई राम्रो स्कुलमा पढाएका छन्, बैंकमा बचत गरेका छन्। तर आफ्नो जीवन हरिबिजोग छ।

माओवादी योद्धाका लागि रगतको नाता भन्दा वर्गीय नाता ठूलो थियो। आफ्नो परिवार होइन कि पार्टी वास्तविक परिवार थियो। तर नेताहरूले आफ्ना छोराछोरी र आफन्त च्यापिदिन्छन्। योद्धाहरूलाई जतै पछि पारिदिन्छन्। यस्तो अवस्थामा उनीहरूको मनोविज्ञान कस्तो होला ?

एक वाक्यमा भन्दा माओवादी नेताले तिनका कार्यकर्तालाई पहिले झूटो वाचा गर्छन् र पछि धोका दिन्छन्। धोका पाएका योद्धाहरूलाई समेत त्यो धोकाले नराम्ररी भत्काइदिन्छ। त्यसपछि उनीहरूका लागि पवित्र भन्ने केही बाँकी हुँदैन।

कतिपयले तीन महिनापछि परस्त्रीगमन गर्न जाने गीतिकथाको मूलपात्रप्रति प्रश्न उठाएका छन्। सतहीरूपमा हेर्दा यो सही हो । तर, माओवादी परिवारमा भएको विग्रहले निम्त्याएको दुष्परिणाममध्ये यो पनि एक हो । धोका पाउने मान्छेले अरुलाई धोका दिन्छ। उनीहरूलाई यस्तो अज्ञात अवस्थामा लैजान्छ, जहाँ पुराना सामाजिक सम्बन्धको पवित्रता हराउँछ । उसले बोकेर हिंडेको धोकाका कारण सम्बन्ध पवित्र रहँदैन। के नेतासँगको सम्बन्ध पवित्र रह्यो र ? के लाभका पदमा पुगेका ठूला नेताले घाइते लडाकुलाई चिने र ? धोका दिएनन् र ? यसले पैदा गर्ने निराशामा मानिसले पवित्रताको सम्बन्ध भुलाउँछ ।

प्रकाश सपूतको मूल पात्रले आफ्नी जीवनसंगिनी विदेशिएको तीन महिनामै साथीको उक्साहटमा आएर परस्त्रीगमनको प्रयास गर्नु र वैवाहिक सम्बन्धको पवित्रता तोड्नु त्यही परिवेशको उपज हो। धोकाले विश्वासमाथि दिग्विजय प्राप्त गरेको समयको उपज हो। मनमा स्थापित सबै मूल्य मान्यता भत्किएको परिवेशमा प्रकाश सपूतकै शब्दमा ‘मुन्छे बन्न मुस्किल’ हुन्छ, निकै मुस्किल हुन्छ। ‘पिर’को मूल पात्रलाई पनि त्यही भएको हो।

समाजशास्त्रीय कोणबाट मूल पात्रको उक्त विचलनको स्रोत अरू कोही नभएर माओवादी नेतृत्व र यही राज्यसत्ता नै हो । माओवादी नेतृत्वले सिर्जना गरेको धोकाको बजारमा कति पारपाचुके भए, कति बहुविवाह भए, त्यसको तुलनामा प्रकाश सपूतको मूल पात्रको गल्ती एउटा क्षम्य गल्ती हो भन्दा अत्युक्ति हुँदैन ।

नेपाली समाजमा सम्बन्धप्रतिको प्रतिबद्धता र विश्वास बचाउन महिला बढी प्रतिवद्ध देखिन्छन्। हाम्रो समाजमा विद्यमान पित्तृसत्तात्मक समाजको विकृतिलाई यहाँ देखाइएको हो। यसमा माओवादीलाई जोड्न आवश्यक छैन।

सामान्यतः साहित्यमा स्वतन्त्रता अराजकताको तहमा फैलन सक्छ। पञ्चायतकालीन जमिनमा उभिएर पनि बीपी कोइरालाले साहित्यमा अराजकतावादी बाटो रोजे । साहित्य सिर्जनामा गरिने परिकल्पना सत्यको नजिक भने हुनुपर्छ। के देहव्यापार हाम्रो समाजमा कपोलकल्पित कुरा हो ? अपवित्र काम हो ? उत्तर फरक फरक आउन सक्ला तर यथार्थबाट भाग्न कोही सक्दैन। विभिन्न तथ्यांकका अनुसार नेपालमा ५० देखि ७० हजार मानिस देहव्यापारमा संलग्न छन्।

सिद्धान्ततः भावनाबिनाको शारीरिक संसर्ग वेश्यावृत्ति हो । त्यसो भए समर्पण र नैतिकताबिनाको राजनीति के हो ? नेताहरूको राजनीतिक वेश्यावृत्तिलाई नदेख्ने पार्टीभित्र विभिन्न तहमा रहेका केही स्थायी शासकहरू एउटा योद्धाको वाध्यात्मक देहव्यापारलाई तल्लोस्तरको शब्दचयन गरेर अपमान गरिरहेका छन्। मलाई लाग्छ, नैतिकता र समपर्णको राजनीति त्यागेका नेताहरूले मच्चाइरहेको वेश्यावृत्तिलाई बेवास्ता गर्ने दलभित्रका आशे नेता कार्यकर्तालाई हजारौं नेपाली संलग्न देहव्यापारमाथि प्रश्न गर्ने कुनै अधिकार छैन । मूल धमिल्याएर धारामा पानी धमिलो आयो भनेर रडाको मच्चाउनुको के अर्थ ?

कतिपयले परस्त्रीगमन गर्न गएको पूर्वलडाकुले आफ्नो पूर्वसहकर्मी कमरेडलाई अचानक लालसलाम गरेको दृश्यलाई अस्वाभाविक मानेका छन्। माओवादी आन्दोलनमा लागेका भुइँतहका कार्यकर्ताहरू जे गर्थे, मनैदेखि गर्थे। मनैदेखि नलागेको मानिस कसरी युद्धमा बलिदान गर्न तयार हुन्छ ? नेता जोगाउने मूल्यमा आफ्नै छातीमा कसरी गोली थाप्न सक्छ ? उनीहरूको मनमा ‘लालसलाम’ गढेर बसेको छ। आकस्मिकतामा अवचेतन मनले कतिबेला लालसलाम फुस्काउँछ, थाहा हुँदैन। यो मष्तिष्कमा सेट भएको एक प्रकारको स्वचालितता अर्थात ‘अटोमेटिसिटी’ को नतिजा हो।

परिवार, विवाह र यौनलाई हेर्ने मार्क्सवादी दृष्टिकोण के हो ? जर्मनीका नेतृहरू रोजा लक्जेमबर्ग र क्लारा जेट्किनहरू यौनकर्मीको अधिकारका लागि लडे। रोजा यौनकर्मीहरू बुर्जुवा समाजद्वारा दुईपटक बलिमा चढाइने कुरा गर्थिन्, पहिलोपटक सम्पत्ति सम्बन्धको बलिमा र दोस्रोपटक पूँजीवादी नैतिक पाखण्डको बलिमा। तर, नेपालमा यौनकर्मीलाई सम्बोधन गर्ने माओवादी नेता कार्यकर्ताहरूको शब्द र अर्थ दुवै आपत्तिजनक छ। उनीहरूले देहव्यापारलाई ‘चरित्रहीन’ र ‘पतित’ पेशाको रूपमा चित्रित गर्न खोजिरहेका छन्।

माओवादीका कतिपय नेताहरूले प्रकाश सपूतलाई दलित मुक्तिको लागि माओवादीले लडेको नभुल्न आग्रह गरेर असभ्य भाषा प्रयोग गरिरहेका छन्। माओवादी आन्दोलनमा बलिदान गर्नेमध्ये दलित समुदायको हिस्सा कुल जनसंख्याको हिस्साभन्दा बढी थियो। यो जस माओवादीका सीमित नेताले मात्रै लिने हो कि लडाई लड्ने समुदायले पनि ? विकसित देश हुन्थ्यो भने यौनकर्मी र दलित समुदायका पात्रलाई प्रयोग गरिएको शब्दचयनप्रति आम माफी माग्नुपर्थ्यो र सार्वजनिक जीवनबाट हात धुनुपर्थ्यो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ