आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसद्वारा युक्रेनी विमानस्थलमा क्रुज क्षेप्यास्त्र हमला, यस्तो छ क्षतिको विवरण

प्रकाशित
584
SHARES

काठमाडौं। युक्रेनमा आक्रमण गर्दै आएको रुसी फौजले मुलुकको पश्चिममा रहेको लभिभ शहरस्थित विमानस्थललाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार पोल्यान्डको सीमानजिक रहेको लभिभ शहरबाट ६ किलोमिटरको दूरीमा रहेको डानिलो हल्यात्स्की विमानस्थललाई लक्षित गरी भएको आक्रमणमा विमान मर्मत गर्ने भवन ध्वस्त भएको स्थानीय अधिकारीले जनाएका छन्।

कृष्ण सागरस्थित रुसी सैनिक क्षेत्रबाट चार क्रुज क्षेप्यास्त्र प्रहार गरिएको बताइएको छ। यस्तै युक्रेनी फौजको हवाई प्रतिरोधी दस्ताले अरु दुई क्षेप्यास्त्र बीच आकाशबाटै खसालेको दाबी गरेको छ।

लभिभ शहरका मेयर आन्द्रेई सादोभीले घटनास्थलमा उद्धारकर्ताहरु खटिएको बताए। यद्यपि विमान मर्मत गर्ने सो भवन यसअघि नै बन्द अवस्थामा रहेकाले कुनै मानवीय क्षति भने नभएको उनको भनाइ छ। गत आइतबार रुसी फौजले लभिभ शहर नजिकै रहेको सैनिक तालिम केन्द्रमा आक्रमण गरेको थियो।

हालसम्म लभिभ शहरमा उल्लेख्य सैनिक गतिविधि नभएपनि यो शहर युरोपका अरु देशबाट युक्रेनलाई प्राप्त हुने सहायता आपूर्ति र युक्रेनबाट बाहिर जाने शरणार्थीहरूका लागि प्रमुख केन्द्रको रुपमा रहँदै आएको छ।

यता युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन्।

‘त्यसैले हामी तपाई, समितिलाई आग्रह गर्छौँ– राष्ट्रपति जेलेन्स्की र युक्रेनी जनतालाई नोबेल शान्ति पुरस्कारमा मनोनयन गर्न मनोनयन प्रक्रिया मार्च ३१, २०२२ सम्मका लागि पुनः खुला गरियोस्। मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।

नोबेल शान्ति पुरस्कारको मनोनयनको म्याद ३१ जनवरीसम्म रहेको बताइएको छ । नोबेल शान्ति समितिले यसबारे कुनै टिप्पणी गरेको छैन। यस वर्ष नोबेल शान्ति पुरस्कारका लागि ३४३ वटा मनोनयन प्राप्त भएको नर्वेजियन नोबेल प्रतिष्ठानलाई उद्धृत गर्दै एफपीले जनाएको छ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ। रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ।

रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए। मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे।

सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन, उनले भने।यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्।

युक्रेनका राष्ट्रपतिले मस्कोलाई “अविलम्ब” अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन्।

युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना “गल्ती” बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ। राति गरेको भिडिओ सम्बोधनमा उनले भने, रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर हो।

यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुनर्स्थापित गर्ने बेला हो। अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ।

मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, “हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।

उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। “तर ती शव जम्मा गर्ने कोही छैन। रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ।

दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्। विभिन्न भवनको अंश र किनमेल गर्ने केन्द्रहरू पूरै ध्वस्त भएको भिडिओहरू सार्वजनिक भएका छन्।

रुसी आक्रमणका कारण उक्त सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ। अधिकारीहरूका अनुसार आजोभ सागरसँग मारिओपोलको पहुँच पनि अवरुद्ध भएको छ।मारिओपोल युक्रेनको प्रमुख व्यापारिक बन्दरगाह सहर हो। त्यहाँको जनसङ्ख्या साढे चार लाख थियो।

बुधवार रुसी बम आक्रमणमा परेको सयौँ मानिसहरूले आश्रय लिइरहेको नाटकघरको भग्नावशेषमा खोजी कार्य जारी छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त नाटकघरको भूमिगत तलामा १,३०० जनाजतिले आश्रय लिएका थिए।

रुसले तीन साताअघि युक्रेनमा आक्रमण सुरु गरेदेखि हालसम्म ३० लाखभन्दा बढी मानिसले युक्रेन छोडेको राष्ट्रसङ्घले जनाएको छ।जेलेन्स्कीका अनुसार नाटकघरको भूमिगत तलाबाट १३० जनालाई जीवित फेला पारिएको छ भने सयौँ मानिस अझै त्यहाँ फसिरहेका छन्।

नगर परिषद्का अनुसार गम्भीर रूपमा घाइते भएका एक व्यक्ति उद्धारकर्मीहरूले फेला पारेका थिए। तर कसैको मृत्यु भएको विवरण आएको छैन।युक्रेनमा युद्ध जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया रुसमा गाभिएको आठौँ वार्षिकोत्सव मनाउँदै मस्कोको लुज्निकी रङ्गशालामा हजारौँ रुसीहरूलाई सम्बोधन गरे।

पुटिनले देशप्रतिको प्रेम पुष्टि गर्न नियमित रूपमा वार्षिकोत्सवको प्रयोग गर्दै आएका छन्।रुसी अधिकारीहरूका अनुसार रङ्गशालामा दुई लाखभन्दा बढी मानिस उपस्थित थिए।यद्यपि उक्त सङ्ख्या प्रमाणित हुन भने सकेको छैन। किनभने उक्त रङ्गशालाको आधिकारिक क्षमता ८१,००० छ।

समारोहका क्रममा रङ्गशाला बाहिर पनि मानिसहरूको ठूलो भिड थियो।र्‍यालीमा उपस्थित थुप्रै मानिसले बीबीसीसँग आफू सार्वजनिक सेवामा रहेको र आफ्नो रोजगारदाताले त्यहाँ आउन दबाव दिएको बताए।

मस्को मेट्रोमा कार्यरत एक मानिसले आफू र अन्य सहकर्मीलाई त्यहाँ उपस्थित हुन दबाव दिइएको बताएका छन्।हामीलाई थाहा छ हामीले अब के गर्नुपर्छ, रुसी राष्ट्रपतिले सम्बोधनमा भने। “हामीले बनाएका सबै योजनाहरू अवश्य पूरा हुनेछन्।

सभामा सम्बोधन गर्दै पुटिनले सेनाको प्रशंसा गर्दै उसले रुसी एकता प्रदर्शन गरेको बताए।आवश्यक परेको बेला उनीहरू दाजुभाइ जसरी एकअर्कालाई गोलीबाट जोगाउन आफ्नो शरीरले छेक्छन्। त्यस्तो एकता लामो समयदेखि थिएन।

रुसी सेनाले पूर्वी युक्रेनमा मानिसहरूलाई नरसंहारबाट जोगाइरहेको मिथ्या दाबी उनले फेरि गरे।सरकारी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण भएको उनको सम्बोधन बीचमै काटिएर राष्ट्रवादी गीत बजेको थियो।क्रेम्लिनले त्यसलाई प्राविधिक त्रुटि भएको बताएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ