आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

रुसविरुद्ध लड्न अमेरिकाले यस्तो हतियार दिँदैछ युक्रेनलाई…

प्रकाशित
714
SHARES

काठमाडौं। यसैहप्ताको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई ८ सय मिलियन अमेरिकी डलर अर्थात् ९६ अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको सैन्य सहायताको प्याकेज घोषणा गरेका छन्।

सो प्याकेजमा अमेरिकी हतियारहरु युक्रेनलाई सहयोग गरिने उल्लेख छ। रुसले तीन हप्तायता युक्रेनमा आक्रमण गरिरहेको छ। अमेरिकाले रुसी आक्रमणको विरोध गर्दै क्रेमलिनमाथि कडा आर्थिक प्रतिबन्ध घोषणा गर्दै युक्रेनलाई हतियार सहयोग गरिरहेको हो।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार अमेरिकाले ८ सयवटा लडाकुविमान खसाउने प्रणाली युक्रेनलाई दिनेछ। यस्तै ९ हजार वटा काँधमा राखेर हान्न सकिने क्षेप्यास्त्र प्रणाली पनि युक्रेनले अमेरिकाबाट पाउनेछ। यो हतियारले ट्यांक ध्वस्त बनाउन सहयोग पुग्नेछ।

साथै ७ हजार साना हतियार पनि अमेरिकाले रुसलाई दिनेछ। जसमा बन्दुकहरु, ग्रिनेड लन्चर, ड्रोन तथा २ करोड गोली समावेश हुनेछन्। बीबीसीका अनुसार अमेरिकाले २५ हजार सेट सैन्य भेस्ट र हेल्मेट पनि युक्रेनको सेनालाई दिनेछ।

यी हतियारले युक्रेनी सेनालाई रुसविरुद्ध लड्न सहयोग पुग्ने अमेरिकी विश्वास छ। युक्रेनले प्राप्त गर्न लागेको ८ सय लडाकु विमानविरुद्धको स्टिन्जर हतियार त्यो प्रणाली हो जसलाई अफगानिस्तानमा सोभियतकालिन विमानहरु खसाउन अमेरिकाले प्रयोग गरेको थियो।

त्यस्तै अमेरिकाले सहयोग गर्ने ड्रोन त्यस्तो ड्रोन हो जसलाई तोकिएको स्थानमा बमको रुपमा प्रयोग गर्न सकिन्छ। यो ड्रोन वास्तवमा उड्ने बम हो।अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले युक्रेनलाई सोभियतकालिन क्षेप्यास्त्र एस–३०० तेस्रो देश हुँदै सहयोग गर्नसक्ने पनि संकेत गरेको छ।

तर औपचारिक घोषणा भने भइसकेको छैन। आज शुक्रबार मात्र रुसका ४५० ट्यांक, ९३ युद्धक विमान, ११२ हेलिकप्टर र ४३ एन्टी–एअरक्राफ्ट प्रणाली ध्वस्त बनाएको युक्रेनी रक्षा मन्त्रालयले जनाएको छ। अमेरिकी हतियारकै कारण रुसी अस्त्र ध्वस्त गर्न युक्रेन सफल भएको बताइन्छ।

मन्त्रालयले आजसम्म आफ्नो जवाफी कारवाहीमा १४ हजार २ सय रुसी सेनाको ज्यान गएको पनि दाबी गरेको छ। अमेरिकाले युक्रेनलाई प्रत्यक्ष सहयोग गरिरहँदा सेना भने त्यहाँ नपठाउने स्पष्ट पारिसकेको छ। उता चीनले रुस र युक्रेन कसैको पक्षमा आफू नभएको जनाइसकेको छ।

वार्तामार्फत् नै विवाद समाधान गर्नुपर्छ भन्ने पक्षमा चीन उभिएको छ। अमेरिका र चीनले रुस–युक्रेन द्वन्द्वमा कसैलाई सहयोग नगर्ने सम्झौता गर्नुपर्ने चीनको अडान छ। तर अमेरिकाले चीनले रुसको विरोध गर्नुपर्छ भनिरहेको छ।

रुसले युक्रेनको ल्भिभस्थित विमानस्थलनजिकै रहेको एउटा भवनमा शुक्रवार हवाई आक्रमण गरेको विवरण प्राप्त भएको छ।त्यहाँका नगरप्रमुखले आफ्नो टेलिग्राममा विमानस्थलमा नभएर नजिकै रहेको भवनमा बम प्रहार भएको लेखेका छन्।

तर त्यहाँ कोही हताहत नभएको उनले जानकारी दिएका छन्।रुसी आक्रमणको निसानामा परेको भवनमा विमान मर्मत सम्भार हुने गरेको बताइएको छ। तर उक्त भवनमा काम पहिला नै रोकिएको उनले जानकारी दिएका छन्।

उक्त स्थानमा उद्धारकर्मी पुगिसकेको उनले बताएका छन्।ल्भिभ पोल्यान्डको सीमाबाट केवल ७० किलोमिटर टाढा छ। यो सहर पूर्वी र दक्षिणी युक्रेनमा सङ्घर्ष भइरहेका स्थानभन्दा निकै टाढा छ।

त्यहाँ यसअघि बमबारी भएको थिएन। ल्भिभभन्दा ३० किलोमिटर पर रहेको एउटा एउटा सैन्य तालिम केन्द्रमा पाँच दिनअघि त्यस्तै आक्रमण भएको थियो।ल्भिभस्थित बीबीसी संवाददाताका अनुसार उक्त सहरलाई आज बिहान बमबारी हुनुअघिसम्म सुरक्षित स्थान मानिएको थियो।

पोल्यान्डको बाटोबाट युक्रेनमा अस्त्र आपूर्ति रोक्ने उद्देश्यले त्यसो गरिएको हुनसक्ने उनको धारणा छ। बीबीसी र एनपीआरको सहयोगमा।

प्रतिक्रिया

आजको ट्रेन्डिङ