आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

लविवमा रुसको मिसाइल हमला, महत्त्वपूर्ण सहर मारिओपोलमा भिडन्त जारी

प्रकाशित
459
SHARES

एजेन्सी। रुसी  सेना सहरको केन्द्रमा पुगेपछि सङ्घर्ष जारी बिहान लविवमा तीन ठूला बिस्फोट हुने बित्तिकै आपतकालीन सेवाका वाहन साइरन बजाउँदै घटनास्थलतर्फ दौडन थाले। यो हमलामा रुसको मिसाइलले पश्चिमी युक्रेनको लविव शहरमा एउटा विमान मर्मत प्लान्टलाई निशाना बनाइयो।

मिसाइल हमलाको निशाना बनेको प्लान्ट शहरको केन्द्रीय इलाकाभन्दा ६ किलोमिटर मात्रै टाढा छ। राहतको कुरा के हो भने यो हमलामा कोही पनि घाइते भएका छैनन्।

आखिर रुसले लविवलाई निशाना किन बनायो ? लविवमा हमला गर्नुलाई यो युद्धमा यति धेरै महत्व किन दिइएको छ ? के रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमाथि हमलाको विषयमा आफ्नो रणनीतिमा परिवर्तन गरिरहेका छन् ?

आउनुहोस् यसबारे जानकारी लिऔँ। लविव शहर नजिकै भएको यो हमला अहिलेसम्मकै ठूलो हो। अहिलेसम्म युक्रेन युद्धमा लविवलाई छोइएको पनि थिएन। यो शहर युद्धबाट भागिरहेका मानिसका लागि सुरक्षित स्थल बनेको थियो।

साथै, लविव युक्रेनका लागि मद्दत पुर्याउने महत्वपूर्ण बाटो पनि बनेको छ। हज्जारौँको संख्यामा यहाँ युद्धबाट भागेर आएर मानिसले शरण लिएका छन्।अन्तर्राष्ट्रिय मानवाधिकार समूह पनि यहाँबाटै युक्रेनमा मद्दत पठाइरहेको छ।

युक्रेनमाथि रुसको आक्रमणपछि नै पश्चिमी युक्रेन पूर्वी युक्रेनको तुलनामा केही शान्त थियो। रुसले तीन तिरबाट युक्रेनमाथि हमला गरेको थियो – उत्तर, पूर्व र दक्षिण दिशाबाट ।यद्यपि, लविवजस्ता पश्चिमी शहर हमलाबाट परै थियो।

तर अब लागिरहेको छ कि स्थिति र रुसको रणनीति फेरिइरहेको छ। आइतबार मात्रै रुसले लविव नजिकै एक सैन्य प्रशिक्षण स्थलमा ठूलो हमला गरेको थियो। ८२ वर्षका वेलेन्टाइन वोवशेन्कोले समाचार एजेन्सी एएफपीसँग भने,

यहाँ हरेक बिहान हवाई हमलाको चेतावनी दिने अलार्म बजिरहन्छ तर अब साँच्चै नै हमला हुन थालेका छन्। उनी भन्छन्, हामी किभबाट भागेर लविव पुगेका थियौँ तर अब यहाँ पनि हमला सुरु भएको छ।

शहरका मेयर आन्द्रे सादोवीले मिलिट्री एयरक्राफ्ट मेन्टेनेन्स प्लान्टको क्रुज मिसाइल हमलाले नष्ट भएको पुष्टि गरेका छन्। यो प्लान्ट यतिबेला चलेको थिएन र यो लविवको अन्तरराष्ट्रिय हवाई अड्डा नजिकै छ।

यद्यपि, मेयरका अनुसार हमलामा अन्तरराष्ट्रिय हवाई अड्डामा कुनै हानी भएको छैन। युक्रेनको वायुसेनाका अनुसार ब्ल्याक सीको तर्फबाट कुल ६ क्रुज मिसाइल दागियो जसमध्ये दुईलाई हावामा नै खसालियो।

रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका पूर्व निर्देशक प्राध्यापक माइकल क्लार्कले बीबीसीसँग भने, रुसका यस्ता संरचनालाई निशाना बनाइँदैछ जुन युक्रेनको विमानलाई उडान भर्न मद्दत गरिरहेका छन्।

लविव पोल्याण्डको सीमाबाट ८० किलोमिटर मात्रै टाढा छ। पोल्याण्डमा युक्रेनबाट भागेर अहिलेसम्म करिब २० लाख शरणार्थी पुगिसकेका छन्।प्राध्यापक क्लार्कका अनुसार हमलाको निशाना बनेको स्थल पोल्याण्ड बोर्डर नजिकै छ।

र यसलाई पश्चिमी देशका लागि एउटा चेतावनी जस्तो पनि देख्न सकिन्छ। उनी भन्छन्, युक्रेनलाई भद्दत नगरोस् भनेर यो पश्चिमलाई डर देखाउने एउटा प्रयास हो ।बेलायतको सैन्य मामिलाका मन्त्री जेम्स हिप्पीले बीबीसीसँग भने,

एक अर्काको सप्लाई लाइनलाई निशाना बनाउनु युद्धको हिस्सा हुन्छ। तर वास्तविकता यो हो कि यो नयाँ घटनाक्रमले पश्चिमी युक्रेनमा बसिरहेका मानिसलाई चिन्तित बनाइदिएको छ।

उनका अनुसार बेलायत युक्रेनको सैनिकलाई स्टारस्ट्रिक एन्टी एयरक्राफ्ट मिसाइल सिस्टमको प्रशिक्षण दिने प्रक्रियामा छ र यो प्रणाली तुरुन्त प्रभावले युक्रेन पुगिरहेको छ। यस्तै, शुक्रबार युक्रेनका थुप्रै अन्य ठूला शहरमा नयाँ हवाई हमला भएका छन्।

दक्षिणी शहर क्रामेटोस्र्कमा एक मिसाइल हमलामा दुईजना मारिए र ६ जना घाइते भए । यस्तै, राजधानी किभमा खसालिएको एक मिसाइल आवासीय इलाकामा खस्यो जसमा एक व्यक्तिको मृत्यु भयो।

रुसी सेना युक्रेनको महत्त्वपूर्ण सहर मारिओपोलको केन्द्रमा पुगेपछि त्यहाँ दुई पक्षबीच सङ्घर्ष भइरहेको छ।रुसी सञ्चारमाध्यमले यसबारे विवरणहरू प्रकाशित गरेका थिए। मारिओपोलका नगरप्रमुखले भाडिम बोइचेन्कोले बीबीसीसँग सहरको केन्द्रमा सङ्घर्ष भइरहेको पुष्टि गरे।

सहरको केन्द्र बाँकी छैन। सहरमा युद्धको प्रभाव परेको नदेखिने एउटा सानो ठाउँ पनि छैन, उनले भने।यद्यपि गत साता रुसी सैनिकहरू युक्रेनमा खासै अघि बढ्न नसकेको सैन्य विश्लेषकहरूले बताएका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी पक्षले गोलाबारी गरिरहेकाले अझै पनि मारिओपोलबाट गैरसैनिक नागरिकहरूलाई सुरक्षित रूपमा अन्यत्र जान बाटो दिन नसकिएको बताएका छन्।

युक्रेनका राष्ट्रपतिले मस्कोलाई “अविलम्ब” अर्थपूर्ण शान्ति र सुरक्षावार्ता गर्न आह्वान गरेका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा आयोजित एउटा सभामा बोल्दै आफ्नो सेनाको प्रशंसा गरेका छन्।

युक्रेनमा आक्रमण गरेपछि रुसका लागि आफ्ना “गल्ती” बाट हुने क्षति सीमित पार्ने यो मात्र एउटा अवसर भएको जेलेन्स्कीको भनाइ छ। राति गरेको भिडिओ सम्बोधनमा उनले भने, रुसका लागि उसले गरेका गल्तीहरूबाट हुने क्षति घटाउने केवल यो मात्र एउटा अवसर हो।

यो भेट्ने बेला हो, यो कुरा गर्ने बेला हो, यो भूमिको अखण्डता र युक्रेनका लागि न्याय पुनर्स्थापित गर्ने बेला हो। अन्यथा रुसको क्षति यस्तो हुन्छ कि त्यो पूर्ति गर्न धेरै पुस्ता लाग्छ।

मारिओपोलबाट पश्चिमी युक्रेनको ल्भिभमा पुग्न सफल भएका मानिसहरूले रुसले निरन्तर आक्रमण गरिरहेकाले त्यहाँ व्याप्त आतङ्कबारे बताएका छन्।तीमध्ये एक २८ वर्षीया युलिया याशेन्कोले भनिन्, “हाम्रो सहर मेटिँदैछ। गोलाबारीले हाम्रा घरहरू जलाएको छ।

उनले सहरमा जताततै धुवाँको मुस्लो र शव देखिएको बताइन्। “तर ती शव जम्मा गर्ने कोही छैन। रुसले बम आक्रमण गर्न थालेपछि उक्त सहरका ८० प्रतिशतभन्दा बढी आवासीय भवनहरू क्षतिग्रस्त वा ध्वस्त भएको बताइएको छ।

दुई सातादेखि झन्डै चार लाख मारिओपोलमा फसेका छन्। यद्यपि युक्रेनी अधिकारीहरूले शुक्रवार झन्डै ५,००० जना त्यहाँबाट बाहिर निस्किएको बताएका छन्। विभिन्न भवनको अंश र किनमेल गर्ने केन्द्रहरू पूरै ध्वस्त भएको भिडिओहरू सार्वजनिक भएका छन्।

रुसी आक्रमणका कारण उक्त सहरमा विद्युत् र पानीको आपूर्ति अवरुद्ध भएको छ। अधिकारीहरूका अनुसार आजोभ सागरसँग मारिओपोलको पहुँच पनि अवरुद्ध भएको छ।मारिओपोल युक्रेनको प्रमुख व्यापारिक बन्दरगाह सहर हो। त्यहाँको जनसङ्ख्या साढे चार लाख थियो।

बुधवार रुसी बम आक्रमणमा परेको सयौँ मानिसहरूले आश्रय लिइरहेको नाटकघरको भग्नावशेषमा खोजी कार्य जारी छ। राष्ट्रपति जेलेन्स्कीका अनुसार उक्त नाटकघरको भूमिगत तलामा १,३०० जनाजतिले आश्रय लिएका थिए।

रुसले तीन साताअघि युक्रेनमा आक्रमण सुरु गरेदेखि हालसम्म ३० लाखभन्दा बढी मानिसले युक्रेन छोडेको राष्ट्रसङ्घले जनाएको छ।जेलेन्स्कीका अनुसार नाटकघरको भूमिगत तलाबाट १३० जनालाई जीवित फेला पारिएको छ भने सयौँ मानिस अझै त्यहाँ फसिरहेका छन्।

नगर परिषद्का अनुसार गम्भीर रूपमा घाइते भएका एक व्यक्ति उद्धारकर्मीहरूले फेला पारेका थिए। तर कसैको मृत्यु भएको विवरण आएको छैन।युक्रेनमा युद्ध जारी रहँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया रुसमा गाभिएको आठौँ वार्षिकोत्सव मनाउँदै मस्कोको लुज्निकी रङ्गशालामा हजारौँ रुसीहरूलाई सम्बोधन गरे।

पुटिनले देशप्रतिको प्रेम पुष्टि गर्न नियमित रूपमा वार्षिकोत्सवको प्रयोग गर्दै आएका छन्।रुसी अधिकारीहरूका अनुसार रङ्गशालामा दुई लाखभन्दा बढी मानिस उपस्थित थिए।यद्यपि उक्त सङ्ख्या प्रमाणित हुन भने सकेको छैन। किनभने उक्त रङ्गशालाको आधिकारिक क्षमता ८१,००० छ।

समारोहका क्रममा रङ्गशाला बाहिर पनि मानिसहरूको ठूलो भिड थियो।र्‍यालीमा उपस्थित थुप्रै मानिसले बीबीसीसँग आफू सार्वजनिक सेवामा रहेको र आफ्नो रोजगारदाताले त्यहाँ आउन दबाव दिएको बताए।

मस्को मेट्रोमा कार्यरत एक मानिसले आफू र अन्य सहकर्मीलाई त्यहाँ उपस्थित हुन दबाव दिइएको बताएका छन्।हामीलाई थाहा छ हामीले अब के गर्नुपर्छ, रुसी राष्ट्रपतिले सम्बोधनमा भने। “हामीले बनाएका सबै योजनाहरू अवश्य पूरा हुनेछन्।

सभामा सम्बोधन गर्दै पुटिनले सेनाको प्रशंसा गर्दै उसले रुसी एकता प्रदर्शन गरेको बताए।आवश्यक परेको बेला उनीहरू दाजुभाइ जसरी एकअर्कालाई गोलीबाट जोगाउन आफ्नो शरीरले छेक्छन्। त्यस्तो एकता लामो समयदेखि थिएन।

रुसी सेनाले पूर्वी युक्रेनमा मानिसहरूलाई नरसंहारबाट जोगाइरहेको मिथ्या दाबी उनले फेरि गरे।सरकारी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण भएको उनको सम्बोधन बीचमै काटिएर राष्ट्रवादी गीत बजेको थियो।क्रेम्लिनले त्यसलाई प्राविधिक त्रुटि भएको बताएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ