आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

त्यो बेला पक्राउ परेको भए मरिसक्थे, को हुन् उनि ?

प्रकाशित
495
SHARES

काठमाडौ। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति हुन् गङ्गाप्रसाद उप्रेती । प्रज्ञामा उप्रेतीको यो तेस्रो कार्यकाल हो । यसअगाडि उनी २०७१ मा पनि कुलपति भएका थिए । उनी प्रज्ञा प्रतिष्ठान २०६६ मा उपकुलपतिमार्फत प्रवेश गरेका थिए । ३५ वर्ष प्राध्यापन पेसामा बिताएका उनी नेपाली भाषा साहित्यमा गहिरो दखल राख्छन्।

निबन्ध, समालोचनालगायत साहित्यका विभिन्न विषयमा समेत उनको कलम चल्दै आएको छ ।अनौपचारिक रूपमा २०१६ र औपचारिक रूपमा २०२१ बाट साहित्य लेखन थालेका उप्रेतीका २०४४ मा प्रकाशित स्मृतिका छालमा इटालीदेखि २०७७ घुम्दैफिर्दै अमेरिकासम्म आउँदा लगायत १४ कृति प्रकाशित छन् ।

यसका साथै विभिन्न कृतिको सम्पादन र अनुवादको अनुभवसमेत सँगालेका उप्रेती समय समयमा विभिन्न पुरस्कार र पदकबाट पुरस्कृत हुँदै आएका छन् । प्रज्ञा प्रतिष्ठानमा रहेर विभिन्न महत्त्वपूर्ण कार्य गर्न सफल उनी ३५ वर्षे प्राध्यापन पेसामा दक्ष जनशक्ति उत्पादन गर्न नसकेकोमा दुखेसो गर्छन् ।

बाहिर खान्नँ: मेरो मनपर्ने खाना दालभात तरकारी र रोटी हो । माछामासु पनि मनपर्छ । गँदेको साग मनपर्दैन । म बाहिर त्यति खान मन पराउँदिनँ । त्यसैले रेस्टुरेन्ट धेरै जान्नँ । कार्यक्रम, सभा, सेमिनार भयो भने जान्छु । त्यो समय जे उपलब्ध हुन्छ त्यही खान्छु । घरमा आफँैले खासै खाना पकाउनु पर्दैन । कहिलेकाहीँ भने पकाउँछु ।

एक घण्टा योग: शारीरिक व्यायाम नियमित गर्छु । पहिले कामका लागि नियमित हिँड्थे । त्यसैले एक्सरसाइज हुन्थ्यो । प्रज्ञा प्रतिष्ठानमा आएपछि धेरै हिँड्न भ्याएको छैन । बिहान करिब एकघण्टा चाहिँ एक्सरसाइजका लागि नियमित हिँड्छु । त्यसपछि रामदेवका योगका ५, ६ तरिका र अन्य एक्सरसाइज गर्छु । घरमा एक्सरसाइजका सामान पनि छैनन् ।

दौरा सुरुवालमै फिट: दौरा सुरुवाल, कमिज सुरुवाल, कुर्था सुरुवाल, इस्टकोट लगायत मेरा मनपर्ने पहिरन हुन् । अध्यापन थालेदेखि धेरैजसो म यही पहिरन प्रयोग गर्छु । सुटपाइन्ट मनपर्छ । यो प्रायः विदेश भ्रमणमा प्रयोग गर्छु । घर बस्दा टिसर्ट, ट्राउजर लगायतका क्याजुअल पहिरन बढी प्रयोग गर्छु ।

दौरा सुरुवालमा खैरो र सेतो, कोटमा कालो मेरो मनपर्ने पहिरन रङ्ग हो । रातो पहिरन भने मन पर्दैन । ढाकाको टोपी मेरो शिरमा छुट्दैन । एक पटक विदेश भ्रमणमा जाँदा ढाकाको टोपीका कारण राजपरिवारको सदस्य हो भनेर सोधे । पहिरनमा ब्रान्ड खोज्दिनँ । पहिले आफैँले किन्नुपर्थ्यो । अहिले करिब २० वर्ष भयो होला पहिरन किनेको छैन । आफन्त, साथीभाइका गिफ्टबाट चलेको छ ।

नियमित अध्ययन: प्राज्ञिक क्षेत्रमा काम गरेपछि नियमित अध्ययन गर्नैपर्छ । अध्ययनका लागि घरमा धेरै पुस्तक सङ्कलन गरी पुस्तकालय नै बनाएर राखेको छु । साहित्य, भाषाशास्त्र मेरो विषय नै भयो । करिब १५, २० वर्षयता अन्तर्देशीय सम्बन्धसम्बन्धी चासोसमेत बढेको छ । त्यसको विषयमा मैले धेरै लेख्नु छ । प्रज्ञा प्रतिष्ठानको जिम्मेवारीले लेख्न भ्याएको छैन ।

अन्तर्देशीय सम्बन्धका विषयमा मेरा दर्जनौँ कार्यपत्र प्रकाशित छन् । मेरो पढ्ने समय प्रायः बिहान, कहिलेकाहीँ त साँझमा पनि पढ्छु । पछिल्लो समय रन्जित रेको पुस्तक पढ्दैछु ।

घुम्न मनपर्छ: घुमघाम मनपर्छ । धेरै ठाउँ घुमेको छु । देशका केही जिल्लाबाहेक सबै पुगिसकेँ । विदेशका पनि धेरै देश घुमेको छु । दक्षिण एसिया, चीन, जापान धेरै पटक पुगिसकेँ । न्युजिल्यान्ड, इजरायल, युरोप, बेलायत, अमेरिकासमेत घुमेको छु । अफ्रिका, दक्षिण अमेरिका र अस्ट्रेलिया अहिले घुम्न रुचि भएका ठाउँ हुन् । संसार बुझ्नका लागि यी देश जाने रहर छ ।

अलि अलि फुर्सद: फुर्सद अलि अलि छ । सामाजिक काममा पनि सक्रिय छु । खेलकुदमा मेरो धेरै रुचि कहिल्यै रहेन । पहिले भलिबल खेल्थेँ । त्यसको राम्रो खेलाडी होइन म । फुटबलमा कहिल्यै रुचि भएन । एथलेटिक्समा पनि स्कुलले जीवनमा अलि अलि भाग लिन्थेँ । चेस बौद्धिक खेल भएकाले खेल्थेँ । खेलमा क्रिकेट, भलिबल र फुटबल हेर्छु । क्रिकेट धेरै बुझ्दिनँ, फुटबल र भलिबल भने राम्रोसँग बुझ्छु ।

एउटा मोबाइल: मोबाइल पहिले दुईवटा थिए । अहिले सामसुङ ब्रान्डको एउटा बोक्छु । मोबाइलमा फोन गर्ने, भाइबर, म्यासेन्जर, इमेल, फेसबुकलगायत सामाजिक सञ्जाल चलाउने गर्दछु । मोबाइल छिटोछिटो फेर्ने बानी पनि छैन । मेरा आफन्त विदेशमा धेरै छन् । मोबाइल उपहार पनि दिन्छन् ।

टीभी, फिल्म: टीभी हेर्छु । टीभीमा बढी हेर्ने भनेको समाचार हो । देश, विदेशका समाचार हेर्छु । डिस्कभरी, लाइफस्टाइल लगायत कार्यक्रमसमेत हेर्छु । फिल्ममा पनि मेरो इन्ट्रेस्ट छैन । नाटक कहिलेकाहीँ हेर्छु । स्कुलमा नाटक अभिनय गर्थें, नाटक गराउँथेँ, टोली लिएरसमेत हिँड्थेँ ।

साहित्यमा म: २०१६ सालदेखि मेरो साहित्य यात्रा सुरु भएको हो । त्यो समय आठराई, तेह्रथुमको हाइस्कुलमा पढ्थेँ । त्यतिबेला दार्जलिङबाट विभिन्न व्याक्तित्व आएर साहित्यका कार्यक्रम हुन्थेँ । त्यही समय मैले ‘वसन्त’ भन्ने एउटा कविता कोरेको थिएँ । २०२१ मा ‘रूपरेखा’ पत्रिकामा कविता छापियो । २० को दशकमा मेरा धेरै कथाहरू पत्रपत्रिमा छापिए ।

२०२८ देखि २०३१ सम्म राजनीतिक कारणले जेल बसेँ । त्यो समय पनि कविताहरू लेखेँ । २०३१ सालमा जेलबाट निस्किएपछि राजविराजको महेन्द्र विन्देश्वरी कलेजमा नेपाली पढाउन थालेँ । त्यहीँबाट मेरो साहित्य प्रतिभाले फक्रिने अवसर पायो । मेरा स्मृतिका छालमा इटाली (यात्रासंस्मरण, २०४४), दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६), व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७), बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, सन् २००८), तिब्बतमा दस दिन (नियात्रा, २०६४), नामको खोल (निबन्ध सङ्ग्रह, २०६५), भाषा र संस्कृति (लेख सङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८), स्मृतिमा फुलेका बहुरङ्गी पूmलहरू (संस्मरण, २०६९), समालोचना विविध (समालोचना सङ्ग्रह, २०७२), चक्रव्यूह (कविता सङ्ग्रह, २०७३), घुम्दैफिर्दै अमेरिका (नियात्रा सङ्ग्रह, २०७७), स्मृतिमा तरङ्गित विम्बहरू (निबन्ध सङ्ग्रह, २०७७) लगायत १४ कृति प्रकाशित छन् । थुप्रै सम्पादन र अनुवाद पनि गरेको छु ।

अध्यापन पेसा: मेरो पेसा प्राध्यापन हो । हाइस्कुलको टिचर भएर सुरु गरेको अध्यापनमा ३५ वर्षसम्म संलग्न रहेँ । यो क्रममा विश्वविद्यालय र विभिन्न कलेजमा समेत पढाएँ । सुरुमा राजविराजको महेन्द्र विन्देश्वरी क्याम्पसमा ७ वर्ष पढाएँ । त्यसपछि विश्वभाषा क्याम्पसको प्रमुखसमेत भएर बसेँ ।

मेरो विचारमा प्राध्यापन महत्त्वपूर्ण पेसा हो । यो सक्षम जनशक्ति उत्पादन गर्ने थलो पनि हो । हामीले विश्वविद्यालयबाट सक्षम जनशक्ति उत्पादन गर्न सकेनौँ । विश्वविद्यालयले बेरोजगारको उत्पादनबाहेक केही गर्न सकेन ।

त्यो हिसाबले प्राध्यापन पेसामा म सफल भएको मान्दिनँ । हाम्रा विश्वविद्यालयमा अध्ययनको पाठ्यक्रम समयअनुसार अपडेट भएका छैनन् । अध्ययन गर्ने मानिसको जीवन उपयोगी शिक्षा छैन । शिक्षकहरूको जुन दायित्व हुन्छ । त्यो शिक्षक कसैले बुझेनन् । प्राविधिक ज्ञानका लागि, जीवन निर्वाह गर्ने शिक्षा लिनका लागि खोलिएका शिक्षालय सम्बन्धन बाँड्ने केन्द्र मात्र भए । शिक्षकहरूमा जागिरे मानसिकता भयो । अहिले शिक्षा व्यापार जस्तो पनि भयो । शिक्षाले आचर, मानिसको ज्ञान, सीप सबै सिकाउँछ । त्यसमा हामी चुक्यौँ ।

प्रज्ञा प्रतिष्ठान यात्रा: नेपाल प्रज्ञा प्रतिष्ठानमा उपकुलपतिको रूपमा २०६६ मा म भित्रिएको थिएँ । त्यसपछि २०७१ मा कुलपति भएँ । २०७५ मा मेरो कुलपतिको दोस्रो कार्यकाल थपियो । म उपकुलपति हुँदा ‘बैरागी काइला’ कुलपति हुनुहुन्थ्यो । त्यो समय सबैको टिमबाट राम्रो काम भयो । भाषा, संस्कृति, दर्शन र साहित्य राम्रा काम गर्यौँ । त्योबेला भएको कामको जस कुलपतिलगायत सबैले मलाई दिए । त्यसैले यसले गर्छ भनेर मलाई २०७१ मा कुलपति बनाइयो । कुलपति भएपछि धेरै काम गरेँ । भवन निर्माण, पुस्तकालयको विकास लगायत धेरै काम अधुरै हुँदा अवधि सकियो । त्यो काम सकाउन फेरि कुलपतिको अवसर मिल्यो । मेरो कार्यकालमा अन्तर्राष्ट्रिय सम्बन्धहरू अभूतपूर्व बनेका छन् । १२ वर्ष प्रज्ञा प्रतिष्ठानको कुर्सी रुँगेर मात्र बसिनँ, काम गरेको छु ।

२०३६ मा विवाह: राजनीतिमा लागेका कारण विवाह केही ढिलो भयो । २०३६ सालमा मागी विवाह गरेको हुँ । उनी र म पहिले सँगै पढ्थ्यौँ । अध्ययनपछि उनी हङ्कङ गएर पढाउन थालेकी थिइन् । म राजनीतिमा लागेर जेल गएँ ।जेलबाट छुटेपछि आफन्तले उनीसँग विवाहको प्रस्ताव ल्याए। हामीले विवाह गर्यौँ। त्योबाहेक बाहिर मेरो प्रेम, डेटिङ केही भएन । मेरी श्रीमती प्रतिष्ठित सिटौला परिवारकी छोरी हुन् । विवाहपछि हामी तीन वर्ष फेरि छुट्टै बस्यौँ । त्यसपछि सँगै छौँ ।

सपना अनेक: सपना अनेक छन्। मुलुक राम्रो होस्, मुलुकमा कचिङ्गल नहोस् भन्ने एउटा सपना हो । कर्मशील, क्षमतावान् मानिसलाई काम गर्ने परिवेश देशमा बनोस् भन्ने अर्काे सपना हो। हामी प्राकृतिक रूपमा जति धनी छौँ त्यो पनि सदुपयोग होस् भन्ने सपना छ मेरो ।

भूल छन्: जीवनमा भूल नगर्ने मानिस सायद हुँदैन । मेरा पनि भए होलान् । शिक्षण पेसामा लागेर राज्यलाई आफ्नो क्षमताअनुसार केही दिन सकेजस्तो लागेको छैन। अर्काे कुरा सुरुका समय म कानुन क्षेत्रमा पनि सक्रिय थिएँ । मसँग कानुनमा लाग्ने साथीहरूले धेरै प्रगति गरेका छन् । त्योअनुसारको प्रगति मेरो भएन।

पहिले म भूगोलको राजनीतिमा थिएँ। झापाको सुखानी हत्याकाण्डको समय पक्राउ परेको भए मरिसक्थेँ । त्यो समय पक्राउ परेका मेरा साथी धेरै मारिए। राजनीतिका जोखिम थामेर अगाडि बढेको भए, म पनि राजनीतिमा पनि धेरै माथि हुन्थेँ । मैले ७५ प्रतिशत समय त्यसै गुमाएँ जस्तो लाग्छ।

सुगर देखियो: अहिले त त्यस्तो ठूलो रोग केही छैन । शरीरको पछाडिको भाग दुख्ने (ब्याक पेन) केहीअगाडि थियो । थेरापीले अहिले त्यो ठीक भयो। पायल्स पनि सामान्य देखिएको छ। अहिले सुगर बोडर क्रस गरेकाले त्यसको औषधि खान थालेँ।

गीतसङ्गीत मन पर्छगीतसङ्गीत धेरै सुन्छु। गीतले जीवनमा ऊर्जा दिन्छ । नेपाली हिन्दी, अङ्ग्रेजी सबै प्रकारका कालजयी गीत सुन्छु । गीत लेख्नुपर्छ, लेख्न सक्छु भन्ने लाग्छ तर लेखेको छैन। हल्का मापसेमापसे नगर्ने होइन । जमघट, पार्टी र विशेष अवसरमा हल्का पिउँछु।

घरमा एक्लै बसेर खान्न। साथीभाइ, जुट्दा पनि थोरै लिन्छु। अहिलेसम्म मदिरा सेवन गरेर मातेको छैन। मदिरामा पनि ह्विस्की र वाइन खान्छु ।मेरो राशि कुम्भ हो । ग्रहदशामा पहिले विश्वास लाग्दैन थियो। अहिले लाग्छ। त्यसैले हेराउने जुराउने गर्छु। त्यो ज्योतिष विज्ञान रहेछ। जन्ममिति हेरेर बताउने भएकाले उनीहरूले बताएको कुरो धेरै पुग्छ।

मृत्यु सत्य: मृत्यु जन्मेकै दिन पिठ्युँमा बोकेर आएको विषय हो। मृत्यु एउटा अकाट्य हो। जीवनको यात्रातय गर्दै जाँदा मृत्यु बोध हुन्छ। त्यो बोध भएपछि मात्र मानिसले जीवन बुझ्छ। मृत्युपछि रहने भनेको नाम मात्र हो । मृत्यु जीवनलाई सचेत गर्ने एक सचेतक हो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ