आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्ध अन्त्य गर्न पुटिनले राखे अनौठो शर्त

प्रकाशित
545
SHARES

एजेन्सी। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफ्ना टर्किश समकक्षीसमक्ष मागहरू अगाडि सारेका छन्। बिहीवार टेलिफोनवार्ताका क्रममा पुटिनले रेजेप तय्यीप एर्दोआनलाई रुसका ठोस मागहरू बताएका हुन्।

दुई राष्ट्रपतिबीच भएको संवादबारे मैले एर्दोआनका एक प्रमुख सल्लाहकार इब्राहिम कालिनसँग कुराकानी गरेको छु। पुटिन र एर्दोआनबीच भएको कुराकानी टर्किश अधिकारीहरूको एउटा सानो समूहले पनि सुनेको थियो जुन समूहमा कालिन पनि थिए।

उनका अनुसार रुसका मागहरू दुई भागमा बाँडिएका छन्। कालिनले बताएअनुसार शुरूका चारवटा रुसी मागहरू पूरा गर्न युक्रेनलाई धेरै गाह्रो छैन। तीमध्ये एउटा प्रमुख माग भनेको युक्रेन तटस्थ बस्नुपर्ने र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्यताका लागि अघि बढ्न नहुने रहेको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो मागलाई स्वीकारिसकेका छन्।पहिलो भागका अरू मागहरू धेरैजसो रुसले जितेको जस्तो देखाउने खालका छन्।

युक्रेन निरस्त्रीकरणको प्रक्रियामा जानुपर्ने हुन्छ जसले रुसका लागि ऊ खतरा नभएको सुनिश्चित गरोस्।युक्रेनमा रुसी भाषालाई संरक्षण गर्नुपर्ने र सार्वजनिक जीवनबाट नाजीवादका सबै अवशेष एवम् प्रभावको अन्त्य हुनुपर्ने माग छ।

यो माग चाहिँ जेलेन्स्कीका लागि अपमानजक छ जो आफैँ एक यहुदी हुन् र उनका पनि केही आफन्तहरू यहुदी नरसंहारमा मारिएका थिए।तर रुसको त्यो माग पनि पूरा गर्न जेलेन्स्कीलाई खासै गाह्रो नहुने टर्कीको विश्वास छ।

नवनाजीवादका सबै स्वरूपको युक्रेनले निन्दा गर्दा पर्याप्त हुनेछ।दोस्रो भागका मागको हकमा चाहिँ कठिनाइ देखिन्छ र सहमतिमा पुग्नुअघि पुटिनका अनुसार जेलेन्स्कीसँग उनले साक्षात वार्ता गर्नुपर्ने हुन्छ।

जेलेन्स्कीले पनि पुटिनसँग प्रत्यक्ष वार्ता गर्नका लागि आफू तयार रहेको पहिल्यै बताइसकेका छन्।दोस्रो भागका मागबारे एर्दोआनका सल्लाहकार कालिनले खासै ठोस कुरा गरेनन्।

उनले ती मागहरू पूर्वी युक्रेनको डोनबास क्षेत्रसँग सम्बन्धित रहेको बताए।त्यसबारे कालिनले विस्तृत त खुलाएनन्। तर युक्रेनले पूर्वी भूभाग छोड्नुपर्ने रुसी माग रहेको अनुमान गरिँदैछ जुन निकै पेचिलो विषय हुनेछ।

अर्को अनुमान अनुसार युक्रेनले क्राइमियालाई रुसकै भूभागको रूपमा मान्यता दियोस् भन्ने रुसको चाहना छ जुन कुरा युक्रेनका लागि साँच्चै फलामको चिउरा चपाए सरह हुनेछ।रुसले सन् २०१४ मा युक्रेनको क्राइमियालाई आफूमा गाभेको थियो।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका लागि इज्जत जोगाउने बाटो खोजी हुँदैछ भने युक्रेनी राष्ट्रपति जेलेन्स्कीले कूटनीतिमा राम्रो सीप देखाइसकेका छन् र उनी रुसलाई आफ्नो देशबाट बाहिर राख्न आफ्नो र आफ्ना नागरिकका लागि स्वीकार्य हुने जस्तोसुकै कदम चाल्न पनि तयार रहेको देखिएको छ।

उनको एउटै मुख्य उदेश्य छ: युद्धबाट युक्रेन रुसको एउटा प्रान्तका रूपमा होइन, एउटा एकताबद्ध र स्वतन्त्र राज्यको रूपमा बाहिर निस्कियोस्।

राष्ट्रपति पुटिनका लागि सबैभन्दा ठूलो कुरा विजयको घोषणा हुनेछ। उनको प्रशासनका सबैलाई यो अनावश्यक आक्रमणले आफ्नै नाक रगताम्मे भएको बुझेको भए पनि वा विश्वमा के भइरहेको छ भनेर बुझ्ने लगभग २० प्रतिशत रुसी नागरिकले पुटिनले जुवा खेलेर हारेको बुझे पनि त्यसले खास अर्थ राख्दैन।

किनभने उनको सङ्घर्ष भनेको सरकारी टीभीमा भनिएका कुरालाई विश्वास गर्ने बाँकी बहुसङ्ख्यक जनसङ्ख्याको समर्थन प्राप्त गर्नु हो। त्यो जनसङ्ख्यालाई टीभीमा युद्धको विरोध गर्ने मारिना ओभसाआनिकोभाजस्ता एक-दुई घटनाले असर पार्दैन।

त्यसो भए के कुराले रुसको बहुमत नागरिकका अगाडि यो युद्धपछि पनि राष्ट्रपति पुटिनको शान कायम राख्न सहयोग गर्छ त?पहिलो त संविधानमा लेखेर वा अन्य कुनै तरिकाले युक्रेनले भविष्यमा नेटोमा सहभागी नहुने सुनिश्चिता।

राष्ट्रपति जेलेन्स्की त्यसका लागि मार्गचित्र कोरिरहेका देखिन्छन्: उनले पहिले त नेटोलाई युक्रेनमाथि नो-फ्लाई जोन कायम गर्ने जस्ता सहमत हुनै नसक्ने कार्यका लागि अनुरोध गरे त्यसपछि नेटोले आफूलाई सहयोग नगरेकोमा आलोचना गरे।

अनि अन्तत: नेटोको यस्तो व्यवहार देखाउने भए त्यसको सदस्य हुनुको अर्थ नरहने कुरा बडबडाए।राजनीतिक रूपमा यति चतुर स्थानमा राख्नु योभन्दा राम्रो हुनै सक्दैन। यसले युक्रेनले चाहे अनुसार गर्ने स्वतन्त्रता पाउने र युद्धका लागि नेटोलाई दोष दिने अवस्था बनाउँछ।

तर यो सहज कुरो हो। युक्रेन र जेलेन्स्कीको युरोपेली युनियनमा सदस्य हुने रहरलाई व्यवस्थापन गर्न अलि गाह्रो छ। यो विषयमा पनि रुस उत्तिकै विपक्षमा छ।

सबैभन्दा गाह्रो कुरा चाहिँ युक्रेनलाई रुसका कारण गुमाउनु परेको भूभागको कुरा पचाउनु हुनुपर्छ। सन् २०१४ मा क्राइमिया रुसमा गाभिएको कुरालाई युक्रेनले मान्नुपर्ने हुनसक्छ र रुसले पूर्वी युक्रेनका भूभागमाथि नियन्त्रण राखिरहने व्यवहार देखाएको छ।

सन् १९३९ मा जोसेफ स्टालिनले कुनै बेला रुसको अंश रहेको फिनल्यान्डमाथि आक्रमण गरे। अहिले पुटिनले सोचेजस्तै स्टालिनले आफ्नो फौजले तुरुन्तै कब्जा जमाउने सोचेका थिए।

स्टालिनसँग त्रसित उनका जनरलहरूले छिटै विजय हुने कुरामा सहमति दिए।तर त्यस्तो भएन। त्यो युद्ध सन् १९४० सम्म लम्बियो, सोभियत सेनाले लज्जित हुनुपर्यो र फिनल्यान्डले शक्तिशाली राष्ट्रलाई प्रतिकार गरेर इज्जत कमायो।

स्टालिनको नाक जोगाउनका लागि केही भूभाग गुमाए पनि फिनल्यान्डले सबैभन्दा महत्त्वपूर्ण कुरा जोगायो: आफ्नो सार्वभौमसत्ता र स्वतन्त्रता।रुसका धेरै आक्रमणको प्रतिकार गरेर पुटिनको फौजलाई अप्रभावकारी देखाएको युक्रेनले आजको दिनमा त्यति कुरा जोगाउन सक्ने देखिएको छ।

पुटिनको सेनाले किएभ र युक्रेनको अधिकांश भूभाग कब्जा गर्न नसकेसम्म युक्रेन सन् १९४० को फिनल्यान्ड झैँ उभिन सक्छ। क्राइमिया र पूर्वी भूभाग गुमाउनु तीक्ततापूर्ण, गैरकानुनी र अन्यायपूर्ण रहिरहने छ। तर पुटिनले आफू माथि पर्नका लागि अझ खतरनाक अस्त्रहरू प्रयोग गर्न सक्छन्।

युद्धको तेस्रो हप्ताको अहिलेसम्मको अवस्थामा यो युद्धमा को विजयी हुन्छ भन्ने कुरामा दुईमत राख्न सक्ने अवस्था छैन।

प्रतिक्रिया

आजको ट्रेन्डिङ