आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राष्ट्रपति पुटिनलाई अर्को धक्का, रुसी सेनाका तेस्रा जनरल मारिए

प्रकाशित
345
SHARES
RUSSIA-BELARUS-UKRAINE

मस्को। युक्रेनमा जारी युद्धमा तेस्रा जनरल पनि मारिएका छन्। आठ दिनभित्र तेस्रा जनरलको मृत्युले युक्रेनमाथि हमला गरिरहेको रुसलाई अर्को झट्का लागेको छ।

२९औं संयुक्त हतियार सेनाका मेजर जनरल आन्द्रेई कोलेस्निकोभ युक्रेन युद्धमा मारिने तेस्रो हाइ प्रोफाइलका सेना भएको युक्रेनले दाबी गरेको छ। युक्रेन हमलामा २० रुसी सेनापतिहरु सहभागी भएको युक्रेन सरकारको विश्वास छ ।

रुसले अहिलेसम्म १७३ ट्यांक, १२ विमान, फौज बोक्ने ३४५ क्यारिअर गुमाएको पश्चिमा सञ्चार माध्यमहरुले दाबी गरेका छन्। यसको स्वतन्त्रत पुष्टि हुन बाँकी नै छ।

रुसी सेनाले आफै निर्णय गर्न नसकेको वा अगाडि बढ्न डराएकाले र सेनापतिहरु मोर्चा सम्हाल्दा जनरलहरुको हताहत भएको पश्चिमा अधिकारीहरुले टिप्पणी गरेका छन्।

रुसको ४१ औं सेनाका प्रथम उपकमाण्डर ४५ वर्षीय मेजर जनरल भिटाली गेरासिमोभको हत्या भएको चार दिनपछि कोलेस्निकोभको मृत्यु भएको हो। मारिएका जनरल गेरासिमोभ दोस्रो चेचेन युद्ध,

सिरियामा रुसको सैन्य कारबाही र युक्रेनको महत्वपूर्ण क्षेत्र क्रिमियालाई बिलय गरानुअघिको सैन्य कारबाहीमा सहभागी थिए। गेरासिमोभ रुसको सशस्त्र फौज चिफ अफ जनरल स्टाफका छोरा हुन। गत साता मेजर जनरल एन्ड्रिइ सुखोभेत्स्काई मारिएका थिए।

तेस्तै, रुसी सेनाले युक्रेनमा नयाँ सरकार स्थापित गराउने अभ्यास सुरु गरेको बताइएको छ। युक्रेनको स्थानीय मिडियाले दिएको जानकारी अनुसार रुसको सेनाले आफ्नो नियन्त्रणमा आएको युक्रेनी सहर मेलितोपोलमा नयाँ मेयरको नियुक्ति गरेको छ।

यसअघि शुक्रबार दिउँसो रुसी सेनाले मेलितोपोल सहरका मेयर इभान फेडोरोभलाई अपहरण गरेको समाचार आएको थियो। रुसले नियुक्त गरेकी नयाँ मेयर र सहरको परिषदकी पूर्व डेप्युटी गलिना डेनिलचेंकोले एक टेलिभिजन प्रसारणमा आफ्नो मुख्य काम ‘यो नयाँ वास्तविकताको सामना गर्दै आधारभूत तन्त्रमा’ काम गर्नु भएको बताइन्।

उनले सहरलाई चलाउन सकियोस् भनेर जनप्रतिनिधिहरुको एक समिति बनाइरहेको बताइन्। उनले जनतासँग अतिवादी गतिविधिमा भाग नलिन आग्रह गरिन्। उनले जनप्रतिनिधिहरुसँग भनिन् ‘हामीलाई जनताले चुनेको हो।

हाम्रो पहिलो कर्तव्य उनीहरुको भलाइको लागि काम गर्नु हो। यो समितिसँग मेलितोपोल सहरको प्रशासनिक जिम्मेवारी हुनेछ। तेस्तै, रुस र युक्रेनबीच युद्ध भएको २० दिन भइसकेको छ तर अझैसम्म यो युद्ध कुनै परिणाममा पुगेको छैन।

लम्बिँदै गएको युद्ध र युक्रेनको राजधानी किभमा नियन्त्रण गर्न नसकेका कारण रुसले अब आफ्नो रणनीति बदल्नु परेको छ। लुहान्स्क र दोनेत्स्कमा युक्रेनी सेनाको जवाफी कारवाहीपछि अब रुसी सेनाले क्रिमियाको बाटो भएर किभमा ‘निर्णायक’ आक्रमण गर्ने तयारी गरिरहेको छ।

रुसको रक्षा मन्त्रालयका प्रवक्ता आइगर कोनाशेनकोभकले स्थानीय मिडियालाई बताएअनुसार दोनेत्स्क र लुहान्स्कमा रुसी सेनाको विशेष अपरेशनमा युक्रेनी सेनाले बाधा पारिरहेको छ।

उनले यी दुवै क्षेत्रमा युक्रेनी सेनाको जवाफी कारवाहीले रुसको कठिनाइ बढाइदिएको स्वीकार गरेका छन्। लुहान्स्क र दोनेत्स्कमा खास सफलता नपाएपछि अब क्रिमियाको बाटो भएर किभमा जाने तयारी भइरहेको छ।

युक्रेनको सेन्टर फर स्ट्राटेजिक कम्युनिकेशनको दावी अनुसार दुश्मन रुसमा डर फैलिइरहेको छ र उसले अब सैन्य अभ्यासको आडमा गुप्त लामबन्दी गर्न सुरु गरेको छ।

इन्स्टिच्युट फर द स्टडी अफ वारले पनि आफ्नो रिपोर्टमा रुसी सेना उत्तरबाट क्रिमियाको बाटो जेपोरिजियातिर बढिरहेको बताएको छ। रिपोर्टमा रुसी सेनाले क्रिमियाबाट जेपोरिजियातिर उत्तरमा आफ्नो अपरेशनलाई प्राथमिकता दिइरहेको देखिएको उल्लेख छ।

रुसले २४ फेब्रुअरीमा युक्रेनमा आक्रमण गरेको थियो। पहिलो दिन नै रुसले किभमा बमबारी गरेको थियो। विशेषज्ञले यो लडाइ धेरै लामो नचल्ने मानेका छन् तर दुई हप्ता बितिसक्दा पनि किभमा कब्जाको लडाइ जारी छ।

इन्स्टिच्युट फर द स्टडी अफ वारको रिपोर्टअनुसार रुसी सेना किभलाई चारैतिरबाट घेर्ने रणनीति अपनाइरहेको छ। रुसी सेनाले किभलाई उत्तर–पश्चिम, पश्चिम र पूर्वतिरबाट घेरेको छ।

युक्रेनले उत्तर पश्चिमी किभको आसपासको क्षेत्रमा रुसी मेसिनरीलाई ठूलो नोक्सानी भएको दावी गरेको छ। इरपिनका मेयरले रुसी सेनाले इरपिन आसपासका सहरहरु बुचा र होस्तोलेमेलमा कब्जा गरेको बताएका छन्।

इरपिन किभबाट मात्रै २० किलोमिटर दूरीमा छ। युक्रेनको जनरल स्टाफले पनि रुसी सेनाको २९ औं, ३५ औं र ३६ औं कम्बाइन्ड आर्म्स आर्मी, एयरबोर्न ट्रुप्स र नेवल इन्फेन्ट्रीले किभलाई घेर्ने तयारी गरिरहेको बताएको छ।

जसरी रुसको सेनाले किभलाई चारैतिरबाट घेरेको छ यसबाट ‘निर्णायक’ युद्धको तयारी भइरहेको अनुमान गरिएको छ। इन्स्टिच्युट फर द स्टडिज अफ वारको रिपोर्टअनुसार रुसको सेना बाइसिभमा सक्रिय छ जो किभ सिटी सेन्टरबाट ५० किलोमिटर दक्षिण पश्चिममा छ।

रुसी सेनाले इभानकिभमा पनि अपरेशन तीब्र पारेको छ जो किभबाट ७० किलोमिटर टाढा छ। रुसले ७ मार्चमा किभको उत्तर पश्चिममा ३० किलोमिटर टाढाको राकिभ्कामा आक्रमण गरेको थियो।

रुसी सेनाको ९८ औं एयरबोर्न डिभिजन र ४५ औं गार्डस स्पेत्सनाज ब्रिगेड पनि किभबाट ४० किलोमिटरको दूरीमा निप्रो नदी नजिकै डायमरमा छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ